फाइनलमा आज नेपाल र युएईबीच भिडन्त

फाइनलमा आज नेपाल र युएईबीच भिडन्त


नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा आज युएईसँग खेल्दैछ। खेल बिहान-११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ। 

नेपालले हङकङ र युएईलाई समान दुई खेलमा हराएको थियो। युएईले हङकङलाई एक खेलमा हराउँदै नेटरनरेटका कारण फाइनलमा पुगेको थियो। समान २ अंक भएपनि युएई नेटरनरेटको कारण फाइनल खेलेको हो।

नेपालले पछिल्लो खेलमा युएईलाई ५ विकेटले हराएको थियो। उक्त खेलबाट नेपालले टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ। अलराउन्डर विवेक यादवलाई बेन्चमा राख्दै स्पिनर ललितनारायण राजवंशीलाई मौका दिने सम्भावना छ। पछिल्लो समय ललित युएईविरुद्ध हाबी हुँदै आएका छन्।

चोटपछि फर्किएका उनी टोलीको प्रमुख स्पिनरको रुपमा खेल्ने सम्भावना छ। सन्दीप लामिछाने टोलीमा छैनन्। त्यसैको कारण ललित प्रमुख स्पिनर हुन्। अर्कोतर्फ विश्वकप छनोट अघि यो अन्तिम खेल हुँदा ललितलाई मौको दिने देखिन्छ।

ललितलाई पार्टटाइम स्पिनर दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले साथ दिनेछन्। आवश्यक परेमा रोहित पौडेल र कुशल भुर्तेल विकल्प हुनसक्छन्।

नेपालको टोलीमा अन्य परिवर्तनको सम्भावना छैन। ओपनरमा कुशल भुर्तेल र आसिफ शेख हुनेछन्। कुशल भर्तेलबाट टोली फाइनलमा उत्कृष्ट प्रदर्शन चाहन्छ।

आसिफले युएईविरुद्ध ५० बलमा ६२ रन बनाएका थिए । त्यसले उनको मनोबल फेरिन सक्छ। नेपालले पछिल्ला दुुई खेलमा सोमपाल कामीलाई तेस्रो नम्बरमा पठाएको थियो।

तर युएईविरुद्ध कुशल मल्ल तेस्रो नम्बरमा खेल्नेछन्। कुशल मल्ल नेपालका प्रमुख टि२० खेलाडी हुन्। उनको प्रदर्शन महत्वपूर्णहुनेछ। सोमपाल तल्लो क्रममा खेल्नेछन्।

चौथोमा कप्तान रोहित पौडेल र पाँचौंमा दीपेन्द्रसिंह ऐरी हुनेछन्। दीपेन्द्र नेपालका फिनिसर हुन्। पछिल्लो खेलमा युएईविरुद्ध दीपेन्द्रले १५ बलमा ४० रन बनाउँदै नेपालको जित पक्का गराएका थिए। दीपेन्द्रको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रदर्शन नेपालको लागि महत्वपूर्ण हुनेछ।

नेपालको ब्याटिङमा गहिराई छ। करण केसी, सोमपाल कामी र गुलशन झा पनि राम्रो ब्याटिङ गर्दछन् । करण युएईलाई भारी पर्न सक्छन्। नेपालका तीव्र गतिका बलर करण केसी र सोमपाल कामीको बलिङ महत्वपूर्ण हुनेछ।

युएईको ब्याटिङ शीर्ष क्रममा निर्भरछ। ओपनर मोहम्मद वासिम, वृत्य अरविन्द र आसिफ खान प्रमुख ब्याटर हुन् । त्यसैले सुरुवातमा करण र सोमपालको बलिङ निकै महत्वपूर्ण हुने देखिन्छ ।

अभिनाश बोहरा नेपालको डेथ ओभर स्पेलिष्ट बलर हुन्। नेपालसँग तीन प्रमुख तीव्र गतिका बलर हुनेछन्। गुलशन झा पार्टटाइम तीव्र गतिका बलर हुनेछन् ।

Logo