श्रीलंकासँगको हारसँगै इंग्ल्यान्डको सेमिफाइनल सम्भावना कठिन

श्रीलंकासँगको हारसँगै इंग्ल्यान्डको सेमिफाइनल सम्भावना कठिन


साविक विजेता इंग्ल्यान्ड आइसिसी विश्वकप २०२३ मा श्रीलंकासँग ८ विकेटले पराजित भएसँगै सेमिफाइनल सम्भावना कठिन बनेको छ। सुरुवाती पाँच मध्य चार खेलमा हार व्यहोरेपछि इंग्ल्यान्डको अंक गणीतिय सम्भावना मात्रै बाँकी रहेको थियो।

जितको लागि १ सय ५७ रनको सामान्य लक्ष्य श्रीलंकाले २५.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। श्रीलंका जितमा ओपनर पाथुम निसांका ८३ बलमा ७ चौका र २ छक्कासहित ७७ रनमा नट आउट रहे। सदिरा समाराविक्रामा ५४ बलमा ७ चौका र १ छक्कासहित ६५ रनमा नट आउट रहे।

तेस्रो विकेटका लागि सदिरा र निसांकाले १ सय ३७ रनको सानदार शतकीय साझेदारी गरेका थिए। ओपनर कुशल परेरा ४ र कप्तान कुशल मेन्डिस ११ रनमा आउट भएका थिए। एक समय २३-२ को अवस्थामा पुगेपनि सदिरा र पाथुमले सहज जित दिलाए। इंग्ल्यान्डका डेविड विल्लीले ५ ओभरमा ३० रन खर्चेर २ विकेट लिए।

त्यसअघि बेंगलोरमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड ३३.२ ओभरमा १ सय ५६ रनमा अल आउट भएको थियो। इंग्ल्यान्डका बेन स्टोक्सले ७३ बलमा ६ चौकासहित सर्वाधिक ४३ रन बनाए। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन सम्झन लायक थिएन।

इंग्ल्यान्डलाई ओपनर डेविड मलान र जोनी बेयरस्टोले ६.३ ओभरमा ४५ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए। मलान स्पिनर एन्जिलो म्याथ्युजको बलमा कुशल मेन्डिसबाट २८ रनमा क्याच आउट भए। मलानले २५ बलमा ६ चौकासहित २८ रन बनाए। मलानको विकेटपछि इंग्ल्यान्डले लगातार विकेट गुमाएको थियो। कुनैपनि ब्याटरले राम्रो साझेदारी गर्न सकेनन्।

जो रुट ३ रनमा रन अउट भए । रुट रन आउट हुनु श्रीलंकाको लागि टर्निङ प्वाइन्ट बनेको थियो । जोनी बेयरस्टो ३१ बलमा ३ चौकासहित ३० रनमा क्याच आउट भए । बेयरस्टो तीव्र गतिका बलर कसुन रजिथाको बलमा धनन्जय डि सिल्भाबाट क्याच आउट भए । त्यो समय इंग्ल्यान्ड १३.२ ओभरमा ६८-३ को अवस्थामा थियो ।

लाहिरु कुमाराको बलमा जस बटलर एक रनमा कुशल मेन्डिसबाट क्याच आउट हुँदा ७७-४ को अवस्थामा पुगेको थियो । मोईन अली १५, क्रिस वोक्स शून्य र लियाम लिभिङस्टोन १ रनमा आउट भएपछि इंग्ल्यान्ड २५.५ ओभरमा १२३-७ को दयनीय अवस्थामा पुगेको थियो। लाहिरु कुमाराको ३१ औं ओभरको पहिलो बलमा बेन स्टोक्स पुल सर्ट खेल्ने धुनमा डिप मिडविकेटमा क्याच आउट भएपछि इंग्ल्यान्डको अन्तिम आशा समाप्त भएको थियो ।

डेविड विल्ली १४ रनमा नट आउट हुँदा मार्क वुड ५ रनमा आउट भए । श्रीलंकाका तीव्र गतिका बलर लाहिरु कुमाराले ७ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । एन्जिलो म्याथ्युजले ५ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । कसुन रजिथाले ७ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।

Logo