रियलको एल क्लासिको जितमा बेलिङ्घम नायक

रियलको एल क्लासिको जितमा बेलिङ्घम नायक

केन्द्रबिन्दु
0
Shares

युवा मिडफिल्डर जुड बेलिङ्घमले दुई गोल गर्दा रियल म्याड्रिडले पुनरागमन गर्दै सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनालाई हराएको छ। बार्सिलोनाको घरेलु मैदानमा रियलले २-१ को जित निकालेको हो।

आफ्नो करिअरको पहिलो क्लासिको खेलिरहेका बेलिङ्घमले रियलका लागि दुवै गोल गरे। बार्सिलोनाले इल्काए गुन्डोगानको गोलमा सुरुवाती अग्रता लिएको थियो ।

खेलको सातौं मिनेटमा गुन्डोगानले बार्सिलोनालाई अग्रता दिलाए । रियल म्याड्रिडको गल्तीका कारण गुन्डोगानको खुट्टामा बल परेपछि उनले सहजै गोल गर्न सफल भएका थिए । १६औं मिनेटमा फर्मिन लोपेजको प्रहार पोस्टमा लागेर बाहिरिँदा बार्सिलोनाले अग्रता दोब्बर गर्ने अवसर गुमायो ।

२२औं मिनेटमा रियलका एन्टोनी रुडिगरको बक्स बाहिर बाट लिएको प्रहारले पोस्टको दिशा लिन सकेन । यस्तै ३८औं मिनेटमा ड्यानी कार्भाहालको प्रहार पनि पोस्टको बाहिरको जालीमा लाग्यो ।

४७औं मिनेटमा रियलका रोड्रीगोको प्रहारले पनि गोलको दिशा लिन सकेन ।

५१औं मिनेटमा बार्सिलोनाका इनिगो मार्टिनेजको हेडर पोस्टमा लागेर फर्कियो । रिबाउन्डमा रोनाल्ड आराउहोको प्रहार रियलका गोलरक्षक केपाले बचाए । ५७औं मिनेटमा टोनी क्रुसको प्रहार बार्सिलोना गोलरक्षक टर स्टेगनले सहजै बचाए ।

६८औं मिनेटमा रियलले बराबरी गोल गर्यो । बेलिङ्घमले झन्डै ३५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहारले सिधै जाली चुमेको थियो ।

खेलको अन्त्यतिर बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै पुनरागमन पूरा गरे । ड्यानी कार्भाहालको क्रस लुका मोड्रीचलाई लागेर बेलिङ्घमको खुट्टामा परेको थियो । उनले पहिलो टचमा नै गोल गर्दै जित पक्का गरे ।

जित पछि रियल पुनः लिगको शीर्षस्थानमा उक्लिएको छ । ११ खेलमा रियलको २८ अंक छ । दोस्रो स्थानमा रहेको जिरोनाको पनि समान २८ अंक छ । पराजित बार्सिलोनाको २४ अंक छ ।

Logo