श्रीलंकामाथि अफगानिस्तानको सानदार जित

श्रीलंकामाथि अफगानिस्तानको सानदार जित


अफगानिस्तानले आइसिसी विश्वकप २०२३ मा श्रीलंकामाथि ७ विकेटको सानदार जित हात पारेको छ। अफगानिस्तानले यसअघि पाकिस्तान र इंग्ल्यान्डलाई हराएको थियो।

जितको लागि २ सय ४२ रनको मध्यम विजयी लक्ष्य अफगानिस्तानले ४५.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। अफगानिस्तानको जितमा युवा अलराउन्डर आजमतुल्लाह ओमरजाई ६३ बलमा ६ चौका र ३ छक्कासहित ७३ रनमा नट आउट रहे। कप्तान हश्मातुल्लाह शाहिदी ७४ बलमा २ चौका र १ छक्कासहित ५८ रनमा अविजित रहे।

अफगानिस्तानले ओपनर रहमानउल्लाह गुरबाजलाई शून्यमै गुमाएको थियो। तर दोस्रो विकेटका लागि इब्राहिम जद्रान र रहमात शाहले ७२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

जद्रान ५७ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट भए। तेस्रो विकेटका लागि रहमात शाह र कप्तान हश्मातुल्लाह शाहिदीले ५८ रनको साझेदारी गरेका थिए। श्रीलंकाका दिलशान मदुशानकाले ९ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए। कसुन रजिथाले १ विकेट लिए।

त्यसअघि पुणेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४९.३ ओभरमा २ सय ४१ रनमा अल आउट भयो। श्रीलंकाका ओपनर पाथुम निसांकाले ६० बलमा ५ चौकासहित सर्वाधिक ४६ रन बनाएका थिए।

कप्तान कुशल मेन्डिसले ५० बलमा ३ चौकासहित ३९ तथा सदिरा समाराविक्रमाले ४० बलमा ३ चौकासहित ३६ रन बनाए। दिमुथ करुणारत्ने १५,चरिथ असलंका २२, धनन्जय डि सिल्भा १४ र एन्जिलो म्याथ्युज २३ रनमा आउट भए।

अफगानिस्तानका तीव्र गतिका बलर फजलहक फारुकीले १० ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए। मुजिब उर रहमानले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए। आजमतुल्लाह ओमरजाई र राशिद खानले एक एक विकेट लिए।

अफगानिस्तान ६ खेलमा ३ मा जित र ३ मा हारसहित ६ अंकका साथ पाँचौं स्थानमा छ। भारत ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ। दक्षिण अफ्रिका ६ खेलमा १० अंकका साथ दोस्रो स्थानमा छ।

न्युजिल्यान्ड ६ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा छ। अष्ट्रेलिया ६ खेलमा ८ अंक भएपनि चौथो स्थानमा छ। अफगानिस्तानले अव नेदरल्यान्ड्स, दक्षिण अफ्रिका र अष्ट्रेलियासँग खेल्नेछ। सबै खेलमा विजयी भएमा अफगानिस्तान १२ अंकका साथ सेमिफाइनल खेल्ने सम्भावना रहन्छ। श्रीलंका ६ खेलमा ४ अंकका साथ सातौं स्थानमा छ। श्रीलंकाले अव भारत, बंगलादेश र न्युजिल्यान्डसँग खेल्न बाँकी छ।

Logo