मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य, अभिनाशले लिए ४ विकेट

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य, अभिनाशले लिए ४ विकेट


मलेसियाले आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटअन्तर्गत घरेलु टोली नेपालसमक्ष प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । 

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनाएको हो । मलेसियाका लागि ओपनर सायद अजिजले सर्वाधिक ६८ रनको अर्धशतकीय पारी खेले । सो क्रममा उनले ८ चौका र २ छक्का प्रहार गरेका थिए । 

नेपालका लागि खतरा बन्न सक्ने उनलाई  १४औं ओभरको पाँचौ बलमा गुल्सन झाले आउट गरेका थिए ।

घरेलु टोलीविरुद्ध मलेसियाले राम्रो सुरुवात दिलाएको थियो । मलेसियाले ५७ रन जोड्दा मात्रै अभिनाश बोहराले जुल्कीफललाई आउट गर्दै पहिलो सफलता दिलाएका थिए । उनी २४ रनमा आउट भएका थिए । त्यसपछि ६ ओभरको अन्तिम बलमा कप्तान अहमद फैजलाई ३ रनमा आउट भए ।  नेपालका स्पिनर सन्दीप लामिछानेको बलमा शत खेलेका उनी करण केसीको उत्कृष्ट फिल्डिङमा आशिफ शेखबाट रनआउट भएका थिए । 

बलिङमा अभिनाश बोहराले सर्वाधिक ४ विकेट लिँदा कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने र गुल्सान झाको नाममा एकएक विकेट रह्यो । नेपालका तीव्र गतिका बलर सोमपाल कामी र करण केसी भने आज विकेटविहीन रहे । 

घरेलु टोली नेपाल लगातार दोस्रो जितको सोचमा छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो ।

Logo