मलेसियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा, कुशलको सानदार ब्याटिङ

मलेसियालाई हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा, कुशलको सानदार ब्याटिङ

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा लगातार दोस्रो जित हात पारेको छ । मंगलबार भएको दोस्रो खेलमा मलेसियामाथि ६ विकेटको सानदार जित दर्ता गर्दै नेपालले एक खेलअगावै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

टियु क्रिकेट मैदानमा मलेसियाले जितका लागि दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा मात्रै ४ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । नेपालका लागि युवा अलराउण्डर कुशल मल्लले सानदार अर्धशतक पारी खेले । उनले ३४ बलमा ७ छक्का र २ चौकाको मदतमा ६५ रन जोडे । 

यसअघि नेपालको पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए । ५.३ ओभरमा आउट हुनुअघि उनले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। त्यसपछि ११औं ओभरको चौथो बलमा अर्का ओपनर आशिफ शेख २३ बल खेल्दै २ छक्का र १ चौकाको मदतमा ३२ रन जोड्दै आउट भए ।  कप्तान रोहितकुमार पौडेल ८ बल खेल्दै २ रनमा क्याच आउट भए ।  सन्दीप जोरा १८ रनमा नटआउट रहे । 

बलिङमा मलेसियाका मुहम्मद अमिरले ३ विकेट लिए । 

त्यसअघि टस जितेर पहिले  ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनाएको थियो । मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् । उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३र१३ रन बनाए । 

बलिङमा नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एकरएक विकेट लिए । नेपालका तीव्र गतिका बलर सोमपाल कामी र करण केसी भने आज विकेटविहीन रहे । 

नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । अब समूहको अन्तिम नेपालले ओमानसँग खेल्नेछ । 

Logo