अन्तिम बलमा ओमानसँग हार्यो नेपाल, समूहको उपविजेतामै सिमित

अन्तिम बलमा ओमानसँग हार्यो नेपाल, समूहको उपविजेतामै सिमित


घरेलु टोली नेपाल आइसिसी टि २० विश्वकप एशिया क्षेत्रको फाइनल छनोटअन्तर्गत समूहको अन्तिम खेलमा ओमानसँग पराजित भएको छ । बिहीवार भएको खेलमा नेपाल ओमानसँग ५ रनले पराजित हुँदै समूह एको उपविजेतामा सिमित बनेको हो । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानले जितका लागि दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा १४० रनमै समेटिएको हो । खराब ब्याटिङ गरेको नेपालका लागि कुनै पनि खेलाडीले जिम्मेवारीपूर्ण क्रिज सम्हाल्न सकेनन् । आठौं नंबरमा ब्याटिङमा विवेक यादवले ५ छक्काको मदतमा ३९ रन जोडे । साथै करण केसीले १५ रन जोडे ।

अन्तिममा विवेकको विष्फोटिङ ब्याटिङमा रोमाञ्चक बनेको खेलमा १९ ओभरको अन्तिम बलमा ६ रन चाहिएको थियो । विवेक आउट भइसकेका थिए । क्रिजमा करण केसी थिए तर, छक्का हान्ने शटमा उनी क्याच आउट हुन पुगे ।

त्यसअघि ओपनर कुशल भुर्तेलले २६ रन जोड्नुबाहेक अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन । कप्तान रोहितकुमाार पौडेल, सोमपाल कामी र सन्दीप जोराले समान १२ रन जोडे । यसअघिका खेलमा विष्फोटिङ ब्याटिङ गर्दै आएका कुशल मल्ल पनि १० रनमै सिमित भए । 

बलिङमा ओमानका बिलाल खानले ३ विकेट लिए भने सकिल अहमद, मेहरान खान र तथा अकिव इलियासले समाान २ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभमा नौ विकेट गुमाउँदै एक सय ४५ रनको योगफल बनाएको थियो । ओमानका लागि जिशान मकसुदले २६ बलमा १ चौका र ३ छक्कासहित ३२ रनको योगदान दिए । त्यस्तै नसिम खुसीले २५ रन बनाए भने प्रतीक अथभलले २४, सकिल अहमदले २२ तथा आयान खानले १८ रन बनाए । 

नेपालका लागि करण केसीले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २/२ विकेट लिए । त्यस्तै, गुलशन झा र अभिनाश बोहोराले समान एक एक विकेट लिए । 

समान तीन खेलमा ६ अंकसहित ओमान शीर्षस्थानमा छ । नेपाल ४ अंकसहित दोस्रो बन्यो ।  यसअघि नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । 

Logo