विश्वकपमा छनोट हुन नेपालले अब युएईको सामना गर्ने

विश्वकपमा छनोट हुन नेपालले अब युएईको सामना गर्ने


टी–२० विश्वकप एसिया छनोट खेलमा ओमान नेपाललाई हराउँदै समूह ए को बिजेता बनेको छ । ओमान पाँच रनले विजयी भयो । ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले नौ विकेटको क्षतिमा १४० रन बनायाे । 

खराब ब्याटिङ गरेको नेपालका लागि कुनै पनि खेलाडीले जिम्मेवारीपूर्ण क्रिज सम्हाल्न सकेनन् । आठौं नंबरमा ब्याटिङमा विवेक यादवले ५ छक्काको मदतमा ३९ रन जोडे । साथै करण केसीले १५ रन जोडे । अन्तिममा विवेकको विष्फोटिङ ब्याटिङमा रोमाञ्चक बनेको खेलमा १९ ओभरको अन्तिम बलमा ६ रन चाहिएको थियो । विवेक आउट भइसकेका थिए । क्रिजमा करण केसी थिए तर, छक्का हान्ने शटमा उनी क्याच आउट हुन पुगे । 

त्यसअघि १८ बलको सामना गरेका ओपनर कुशल भुर्तेलले २६ रन बनाए । कप्तान रोहितकुमाार पौडेल, सोमपाल कामी र सन्दीप जोराले समान १२ रन जोडे । यसअघिका खेलमा विष्फोटिङ ब्याटिङ गर्दै आएका कुशल मल्ल पनि १० रनमै सिमित भए । 

पावर प्लेमा ओमानलाई दबाबमा राखेको नेपालले सोही नियती भोग्नुपर्यो । पाँच ओभरको खेल समाप्ति हुँदा ओमानले ४ विकेटको क्षतिमा ४३ रन मात्र बनाएको थियो । यता, ओमानले आठौं ओभरको सुरुवातमा रोहित पौडेललाई आउट गराउँदा नेपालले ५६ रन मात्रै बनाएको थियो । सुरुबाटै नेपाललाई दबाबमा राख्न सफल रह्यो । 

ओमानका विलाल खानले सर्वाधिक ३ विकेट लिए । अकिब इलियास, मेहरान खान र शकील अहमदले समान २/२ विकेट  लिए । 

नेपालले टस जितेर ओमानलाई पहिला व्याटिङको निम्तो दिएको थियो । ओमानले नौ विकेटको क्षतिमा १४५ रन बनाएकाे थियाे । टीयु मैदानमा जारी खेलमा नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिगेका थिए भने सोमपाल कामी,सन्दीप लामिछानेले र करण केसीले समान २/२ विकेट लिँदा अविनास बोहोरा,गुल्सन झाले समान १/१ विकेट लिएका थिए ।

ओमानका लागि क्याप्टेन जीसन मक्सुदले २६ बल खेलेर सर्वाधिक ३२ रन बनाएका थिए । नेपाललाई हराएपछि ओमान ६ अंकसहित समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो । 

नेपाल भने चार अंकसहित समूह उविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । सिंगापुर र मलेसिया भने समूहगत चरणबाटै घर फर्किने निश्चित भइसकेको छ । यी दुबै टोलीले अघिल्ला दुई खेलमै पराजय भोगेका थिए । 

सेमिफाइनलमा नेपालले शुक्रवार संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ । यूएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेकाे हाे । सेमिफाइनलमा ओमानको प्रतिद्वन्द्वीको टुंगो लाग्न बाँकी छ । सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग भिडन्त गर्नेछ । अर्को सेमिफाइनल खेल समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेताबिच हुनेछ ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् । टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

Logo