टि२० विश्वकपमा पुग्न नेपालले युएईसँग खेल्दै

टि२० विश्वकपमा पुग्न नेपालले युएईसँग खेल्दै


नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ। खेल बिहान-११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ। विजेता टोली २०२४ को टि२० विश्वकप खेल्न पाउनेछ।

नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ। नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन्। नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन्।

नेपाल २०२१ को छनोटको निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन। नेपाल त्यो हारको बदला लिँदै विश्वकप खेल्न चाहन्छ।

नेपालको कुशल मल्ल र युएईका मोहम्मद वासिम प्रमुख विष्फोटक ब्याटर हुन्। यी दुई ब्याटरको प्रदर्शनले टोलीको योगफल वा नतिजा निर्भर हुनसक्छ। दुबै चलेको खण्डमा टोलीको जित भने सहज बनाउन सक्ने खुबी राख्छन्।

युएईका आयन खान र नेपालका सन्दीप लामिछाने दुबै प्रमुख स्पिनर हुन्। नेपाललाई आयन घातक बन्दै आएका छन्। उनको बलमा केहि सचेत हुनुपर्छ। युएईका तीव्र गतिका बलर जहुर खान र जुनैद सिद्दिक प्रमुख तीव्र गतिका बलर हुन्। जुनैदले नयाँ बल र जहुरले डेथ ओभरमा राम्रो गर्दै आएका छन्।

नेपालका सोमपाल कामी र करण केसी प्रमुख तीव्र गतिका बलर हुन्। दुबैले नयाँ बलका साथ राम्रो गर्दै आएका छन्। डेथ ओभरमा प्रदर्शन त्यति राम्रो छैन । डेथ ओभरमा अभिनाश बोहराको प्रदर्शन महत्वपूर्ण हुनेछ।

नेपालका कुशल भुर्तेल, विवेक यादव र रोहित पौडेलले आफ्नो उत्कृष्ट प्रदर्शनमा टोलीलाई जिताउन सक्ने खुबी राख्छन्। युएईका आसिफ खान, वृत्य अरविन्द र बासिल हामिद पनि घातक बन्नसक्छन्। युएईका बासिल र अली नासिरले लगातार राम्रो गर्दै आएका छन्।

नेपालले टोलीमा परिवर्तन गर्ने झिनो सम्भावना छ। यदि दीपेन्द्र सिंह ऐरीलाई जोखिम लिएर खेलाएमा सन्दीप जोरा बाहिर हुनुपर्छ। अन्य परिवर्तन देखिँदैन। उता वृत्य अरविन्द घाइते छन्। उनी खेल्न नसके अर्यांश शर्मा खेल्नेछन्।

नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट, मलेसियालाई ६ विकेटले हराउँदा ओमानसँग पाँच रनले हारेको थियो। युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो। हङकङलाई २२ रनले हराएको थियो।

आजको अर्को सेमिफाइनल खेलमा टियु क्रिकेट मैदानमा ओमान र बहराइनबीच प्रतिस्पर्धा हुनेछ। नेपालले ओमानसँग हारेपछि बहराइनसँग सेमिफाइनल खेल्ने अवसर गुमाएको थियो।

Logo