श्रीलंकालाई हराउँदै भारत सेमिफाइनलमा

श्रीलंकालाई हराउँदै भारत सेमिफाइनलमा


घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा श्रीलंकालाई ५५ रनमा अल आउट गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।  भारतले श्रीलंकालाई ३ सय २ रनले हराउँदै सुरुवाती सात खेलमा जितका साथ शीर्षस्थानमा रहँदै दुई खेल अगावै सेमिफाइनल खेलेको हो। 

जितको लागि ३ सय ५८ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका १९.४ ओभरमा ५५ रनमा अल आउट भयो। विश्वकपमा श्रीलंकाको यो सबैभन्दा कम योगफल हो। श्रीलंका यसअघि विश्वकपमा सन् १९७५ मा वेस्टइन्डिजविरुद्ध ८६ रनमा अल आउट भएको थियो। विश्वकपमा सबैभन्दा कम रनमा २००३ मा श्रीलंकासँग क्यानडा ३६ रनमा अल अउट भएको थियो ।

क्यानडानै १९७९ को विश्वकपमा इंग्ल्यान्डसँग ४५ तथा नामिबिया २००३ को विश्वकपमा अष्ट्रेलियासँग समान ४५ रनमा अल आउट भएका थिए। ओडिआईमा सबभन्दा कम रनमा श्रीलंकासँग जिम्बावे र नेपालसँग अमेरिका समान ३५ रनमा अल आउट भएका थिए। एक समय श्रीलंका ओडिआई इतिहासकै कम योगफलमा पुग्ने संकटमा पुगेको थियो।

भारतको विश्वकपमा यो हालसम्मकै ठूलो जित हो। भारतको यसअघि विश्वकपमा २००७ मा भारतले बर्मुडालाई २ सय ५७ रनले हराएको थियो। विश्वकपमा रनको हिसाबमा यसै विश्वकपमा अष्ट्रेलियाले नेदरल्यान्ड्सलाई ३ सय ९ रनले हराएको थियो। त्यो नै विश्वकपमा एक टोलीले हात पारेको सर्वाधिक ठूलो जित थियो।

श्रीलंकाका तीव्र गतिका बलर कसुन रजिथा १७ बलमा २ चौकासहित सर्वाधिक १४ रनको योगदान दिए। श्रीलंकाका ओपनर पाथुम निसंका, दिमुथ करुणारत्ने, सदिरा समाराविक्रमा, दुशान हेमान्था र दुश्मन्था चामिरा शून्यमा आउट भए।

कुशल मेन्डिस र चरिथ असलंका १-१ रनमा आउट भए। चरिथले २४ बलमा १ रन बनाएका थिए। एन्जिलो म्याथ्युज २५ बला १ चौकासहित १२ रनमा शामीको बलमा बोल्ड आउट भए। त्यो समय श्रीलंका १३.१ ओभरमा २९-८ को अवस्थामा थियो। महेश थिक्सेना २३ बलमा २ चौकासहित १२ रनमा नट आउट रहे।

भारतका मोहम्मद शामीले ५ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ५ विकेट लिए। मोहम्मद शिराजले ७ ओभरमा २ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए। रविन्द्र जडेजा र जस्प्रित बुमराहले १-१ विकेट लिए।

त्यसअघि वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५८ रन बनाएको थियो। 

भारतको जितमा तीन ब्याटरले अर्धशतक प्रहार गरे। तीनै ब्याटर शतक नजिक पुगेर आउट भएका थिए। ओपनर शुभमन गिलले ९२ बलमा ११ चौका र २ छक्कासहित सर्वाधिक ९२ रनको योगदान दिए।

विराट कोहलीले ९४ बलमा ११ चौकासहित ८८ रन बनाए। श्रेयस ऐरले ५६ बलमा ३ चौका र ६ छक्कासहित ८२ रनको आक्रमक इनिङ खेलेका थिए। तीनै ब्याटर शतक नजिक पुगेर आउट भएका थिए।

गिल दिलशान मदुशानकाको बलमा एज लागेर कुशल मेन्डिसबाट क्याच आउट भए। दिलशानले इनिङको दोस्रो बलमै रोहित शर्मालाई चार रनमा बोल्ड आउट गरेका थिए। दोस्रो विकेटका लागि विराट कोहली र गिलले १ सय ८९ रनको सानदार शतकीय साझेदारी गर्दै भारतलाई खेलमा फर्काएका थिए।

कोहली पनि दिलशानकै बलमा मिडअफमा क्याच आउट भए। श्रेयस ऐर पनि दिलशानकै बलमा महेश थिक्सेनाको बलमा क्याच आउट हुन पुगेका थिए। दिलशान मदुशानकाले १० ओभरमा ८० रन खर्चेर ५ विकेट लिएलिएका थिए।

भारत ७ खेलमा १४ अंकका साथ शीर्षस्थानमा छ। भारतले अव ५ नोभेम्बरमा दक्षिण अफ्रिका र १२ नोभेम्बरमा नेदरल्यान्ड्ससँग खेल्नेछ। दक्षिण अफ्रिका ७ खेलमा ६ मा जित र १ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ।

अष्ट्रेलिया ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ। न्युजिल्यान्ड ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ। पाकिस्तान ७ खेलमा ३ मा जित र ४ मा हारसहित ६ अंकका साथ पाँचौं स्थानमा छ। विश्वकपको सेमिफाइनलमा पहिलो स्थानमा रहने टोलीले चौथो स्थानमा रहने टोलीसँग खेल्नेछ। 

Logo