केनको ह्याट्रिकमा बायर्नको सानदार जित

केनको ह्याट्रिकमा बायर्नको सानदार जित


इंग्लिस फरवार्ड ह्यारी केनको ह्याट्रिक मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगाको ‘डेर क्लासिकेर’ मा सानदार जित निकालेको छ। बायर्नले घरेलु टोली बोरुसिया डर्टमुन्डमाथि ४–० को सानदार जित निकालेको हो। बायर्नको जितमा केनले ह्याट्रिक पूरा गर्दा एक गोल डेअट उपमेकानोले गरे।

सिग्नल इडुना पार्कमा शनिबार राति भएको एक पक्षीय बनेको खेलको चौथो मिनेटमा नै डेअट उपमेकानोको गोलबाट बायर्नले अग्रता लिन सफल भएको थियो। उनले लिरोए सानेको पासमा गोल गर्न सफल भएका थिए।

त्यसपछिको तीनै गोल केनको नाममा रह्यो। नवौं मिनेटमा सानेकै पासमा केनले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे। ७२औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बायर्नलाई सहज जिततर्फ अघि बढाए।

उनले यसपटक किङ्सले कोमानको पासमा गोल गर्न सफल भएका थिए। त्यसपछि इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा केनले एलेक्सान्डर पाब्लोभिकको पासमा ह्याट्रिक पूरा गर्दै बायर्नलाई सानदार जित दिलाए।

यस सिजन इंग्लिस क्लब टोटेनहम हटस्परबाट बायर्न पुगेका केनको बायर्नमा यो तेस्रो ह्याट्रिक हो। उनले यो सिजन बायर्नबाट १४ खेल खेल्दा १७ गोल गरिसकेका छन्। यस जितसँगै बायर्न १० खेलबाट २६ अंक जोडेर दोस्रो स्थानमा यथावत छ। पराजित डर्टमुन्डले दोस्रो स्थानमा उक्लने मौका गुमाउँदा २१ अंक जोडेर चौथो स्थानमा रहेको छ।

Logo