रोनाल्डो चम्किँदा अल नासरको सहज जित

रोनाल्डो चम्किँदा अल नासरको सहज जित


पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले एक गोलसँगै एक असिस्ट प्रदान गरेपछि अल नासरले साउदी प्रो लिगमा सहज जित पारेको छ। अल नासरले अल खालिजमाथि २-० को सहज जित हात पारेको हो। अल नासरको जितमा रोनाल्डोसँगै एमरिक लापोर्टेले गोल गरे।

अल अवाल पार्क किङ साउद युनिभर्सिटी रियादमा शनिबार राति भएको खेलको २६औं मिनेटमा रोनाल्डोले गोल गर्दै अल नासरलाई १-० को अग्रता दिलाए। उनले अब्दुलरहमान घरिवको पासमा गोल गर्न सफल भएका थिए। रोनाल्डोले यो सिजन अल नासरका लागि २२ खेलमा २१ गोल गरिसकेका छन्।

५८औँ मिनेटमा पहिलो गोल गरेका रोनाल्डोको पासमा लापोर्टेले गोल गर्दै अल नासरको अग्रता दोब्बर पारे। त्यसपछि थप गोल निस्कन नसक्दा अल नासरले सहज जित निकाल्न सफल भयो।

सुरुवाती दुई खेल गुमाएको अल नासर त्यसपछि साउदी प्रो लिगमा अपराजित छ। जसमा ९ जित र १ बराबरीको नतिजा छ। यस जितसँगै अल नासर १२ खेलबाट २८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ। अल नासर शीर्षस्थानको अल हिलालसँग ४ अंकले पछि छ। पराजित अल खालिज १० अंक जोडेर १५औँ स्थानमा छ।

Logo