घरेलु टोली नेपाल आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको उपविजेतामै सिमित बनेको छ । आइतबार भएको फाइनल खेलमा ओमानसँग भएको सुपर ओभरमा नेपाल ११ रनले पराजित भएको हो ।
सुपर ओभरमा पहिला ब्याटिङ गरेको ओमानले २२ रनको लक्ष्य दिएको थियो । नसिम खुसीले ३ छक्का प्रहार गर्दै १९ रन जोडे । तर, लक्ष्य पछ्याएको नेपालले एक विकेटको क्षतिमा ६ रन मात्रै बनायो । पहिलो बलमै कुशल भुर्तेललाई बिलाल खानले क्याच आउट गराए । ब्याटिङमा आएका कुशल मल्लले दोस्रो बल डट खेले । तेस्रो बलमा एक रन लिएका थिए । चौथो बलमा गुल्सनलाई एक रन दिएपछि नेपालको जितको सम्भावना समाप्त भएको थियो । पाँचौं बल र छैठौं बलमा चौका लिएपनि जितको लागि पर्याप्त थिएन ।
त्यसअघि टियु क्रिकेट मैदानमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रननै जोडेको हो । अन्तिम ओभरमा नेपालका स्पिनर सन्दीप लामिछानेले लगातार २ विकेट लिएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । ओमानका लागि ओपनर कश्यप प्रजापतिले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले । अकिव इलियासले ३३ रन जोड्दा कप्तान जिसन मकसुदले २६ रन बनाए । साथै मोहम्मद नादिमले ८ बलमै २४ रन जोडे ।
बलिङमा नेपालका लागि सन्दीप लामिछाने, करण केसीले समान २ विकेट लिँदा सोमपाल कामी, गुल्सन झा, विवेक यादव र अभिनास बोहराले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडलले ५२ रनको अर्धशतकीय पारी खेले । सो क्रममा ३७ उनले ५ चौका र २ छक्का प्रहार गरे । साथै करण केसीले १ चौका र २ छक्काको मदतमा २० रन जोडे । उनीहरु दुवै नटआउट रहे ।
युवा अलराउन्डर गुल्सन झाले सानदार अर्धशतकीय इनिङ खेले । गुल्सनले २० बलमा आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक प्रहार गरेका हुन् । २५ बल खेलेका ५ चौका र ४ छक्काको मदतमा ५४ रन जोडे । खराव सुरुवात गरेको नेपालका लागि गुल्सन र रोहितले इनिङ उकासेका थिए । ६० रन बनाउँदा ४ विकेट गुमाइसकेको नेपालका लागि उनीहरुले ७८ रनको साझेदारी गरेका थिए ।
पहिलो विकेटका रुपमा ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए । आक्रामक सुरुवाती दिलाएका अर्का ओपनर कुशल भुर्तेललाई नेपालले ७।१ ओभरमा ४९ रन बनाउँदा गुमायो । ३ चौका र २ छक्काको मदतमा ३१ रन बनाउँदै उनी आउट भए । भुर्तेलले ब्यक्तिगत १८ रनमा पनि जीवनदान पाएका थिए । त्यतिबेला आयन खानले क्याच छाड्न पुगेका थिए । त्यसअघि दोस्रो विकेटमा सन्दीप जोरा कप्तान जिशान मकसुदको बलमा १० रनमा बोल्ड आउट भए ।
बलिङमा ओमानका बिलाल खानले ३ विकेट लिँदा अकिब इल्यासले २ विकेट तथा जिशान मकसुदले १ विकेट लिए ।
नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानसँग भने नेपाल ५ रनले पराजित भएको थियो । नेपालले सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै २०१४ पछि पहिलो पटक टि२० विश्वकपमा स्थान बनाएको थियो ।





























प्रतिक्रिया