एसी मिलानसँग पिएसजीको हार

एसी मिलानसँग पिएसजीको हार

केन्द्रबिन्दु
0
Shares

युरोपेली च्याम्पियन्स लिगको समूह एफमा मंगलबार इटालियन टोली एसी मिलान र जर्मन टोली बोरुसीया डर्टमन्ड विजयी भएका छन्। एसी मिलानले पिएसजीलाई र डर्टमन्डले न्युक्यासल युनाइटेडलाई‌ हराएको हो। एसी मिलानले २-१ को पुनरागमन जित हासिल गरेको हो।

खेलमा नवौं मिनेटमा पिएसजीका डिफेन्डर मिलान स्क्रीनियारले गोल गर्दै अग्रता दिलाएका थिए। भिटिन्हाको कर्नरमा मार्किन्होसको फ्लिक पासमा स्क्रीनियारले खाली रहँदै सहज गोल गरेका थिए।

तर मिलानले तीन मिनेट पछाडि नै बराबरी गोल फर्कायो। ओलीभियर जिरुडको प्रहार पिएसजी गोलरक्षक डोन्नारुमाले बचाएपछि रिबाउन्डमा राफाएल लेआओले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

मिलानले अग्रता भने दोस्रो हाफमा लियो। ५०औं मिनेटमा थियो हर्नान्डेजको सुन्दर क्रसमा हेडर मार्फत गोल गर्दै जिरुडले अग्रता दिलाए। अन्त्यमा त्यही गोल जितका लागि पर्याप्त भयो।

यस्तै सोही समूह कै अर्को खेलमा डर्टमन्डले न्युक्यासल युनाइटेड माथि २-० को जित निकाल्यो। डर्टमन्डका लागि निकोलास फुलक्रुग र जुलियन ब्रान्ड्टले गोल गरेका हुन्।

जितपछि समूहमा डर्टमन्ड ४ खेलमा ७ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ। पिएसजी समान ४ खेल्न २ जित र २ हारसहित ६ अंक जोड्दै दोस्रो छ। ५ अंक रहेको मिलान तेस्रो र ४ अंक सहित न्युक्यासल अन्तिम स्थानमा छ।

Logo