हङकङमा जारी चार देश सम्मिलित महिला टी-२० शृङ्खलामा नेपालले जापानलाई ६७ रनले पराजित गरेको छ।
नेपालले प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा जापान निर्धारित २० ओभरमा ओभरमा सबै विकेट गुमाएर ४६ रनमा समेटिएको हो। त्यस्तै कप्तान इन्दु बर्माले ३१ बलमा २ चौका हान्दै २७ रन जोडिन्। ओपनर पूजा महतोले १३ रन बनाउँदा सीता रानामगरले ९ रनको योगदान गरिन्।
नेपालका लागि अस्मिना कर्माचार्यले ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिइन् भने संगीता राईले ३ तथा पूजा महतोले २ विकेट लिइन्। जापानका लागि मेग ओगावाले सर्वाधिक १७ रन तथा सेइका सुमीले १३ रनको योगदान दिइन्।
यसअघि हङकङ क्रिकेट क्लबको मैदानमा शनिबार बिहान भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा ११३ रन बनाएको थियो। नेपालका लागि काजल श्रेष्ठले नटआउट १५ रन बनाइन्।त्यसअघि रूबिना क्षेत्रीले ३८ रन बनाइन्। उनले ३२ बलमा ५ चौका प्रहार गरिन्।
बलिङतर्फ जापानकी एलिना कुसुदा क्विनले २ विकेट तथा मेग ओगावा र अयुमी फुजिकावाले एक(एक विकेट लिए। लिगको सुरुवाती दुई खेलमा पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल भइसकेको छ। तान्जानिया र हङकङले उपाधिका लागि खेल्ने छन्।





























प्रतिक्रिया