फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनको सामना गर्दै छ । ‘होम एन्ड अवे’ आधारमा चलिरहेको छनोट खेलमा नेपालले आफ्नो दोस्रो खेलमा यमनसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल नेपाली समय अनुसार राति ७ बजे दशरथ रंगशालामा सुरु हुनेछ । घरमै बसेर खेल हेर्न चाहनेहरुका लागि भने नेपाल टेलिभिजनको एनटिभी प्लस टिभी र नेपाल टेलिभिजनको आधिकारिक वेवसाइट मार्फत प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ ।
यसैगरी एन्फाले आजको खेलको टिकट कुनै पनि आधिकारिक बिक्रेतालाई टेन्डरका रुपमा नदिएको कारण आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म दशरथ रङ्गशालाको गेटअघिबाट टिकट विक्री गरिरहेको छ। साँझ ७ बजेबाट सुरु हुने खेलका लागि एन्फाले साधारणतर्फ ४०० र भिआइपीतर्फ १ हजार रुपैंया टिकट मूल्य निर्धारण गरेको छ। एन्फाले आजको खेलबाट करिब ५० लाख रकम बराबरको टिकट विक्रीको लक्ष्य राखेको छ।
यस्तै, एन्फाले आज रातीको सात बजे सुरु हुने भएका कारण खेल सकिएपछि घर जान अप्ठेरो पर्ने दर्शकहरुका लागि निःशुल्क १५ वटा बस सेवाको सुबिधा राखेको छ । तर त्यसका लागि दर्शकहरुले बस चढ्नुअघि आधा च्याटिएको खेलको टिकट देखाउनु पर्नेछ।





























प्रतिक्रिया