बागमती प्रदेश दोस्रो जित निकाल्दै सेमिफाइनलमा, सन्दीपकाे उत्कृष्ट प्रदर्शन

बागमती प्रदेश दोस्रो जित निकाल्दै सेमिफाइनलमा, सन्दीपकाे उत्कृष्ट प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेश केपी ओली टि२० कपमा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा बागमतीले कर्णाली प्रदेशलाई ९० रनले हराएको हो । 

पोखरा क्रिकेट रंगशालामा १९० रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश १७.३ ओभरमा ९९ रन बनाउँदै अलआउट भएको हो । कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक २४ रन बनाउनु बाहेक अन्य खेलाडीको ब्याटिङ चलेन । कप्तान रविन्द्रजंग साहीले २०, विपिन शाही २१ र दिपेन्द्र रावतले १२ रन बनाए । 

बलिङमा बागमतीका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । साथै दिपेश श्रेष्ठले २ , प्रतिश जिसि, रिजन ढकाल, सुवास खत्री र ईशान पान्डेले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनाएको थियो । बागमतीको लागि ओपनर रित गौतमले सर्वाधिक ८२ रनको अर्धशतकीय इनिङ खेले । साथै इशान पाण्डेले पनि ७० रनको उत्कृष्ट इनिङको योगदान दिए ।

बलिङमा कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए भने दिवान पुन र अनुज चनाराले एक एक विकेट लिए । 

बागमतीले समूह ए मा दुवै खेलमा जितका साथ सेमिफाइनलमा स्थान पक्का गरेको हो । उद्घाटन खेलमा बागमती प्रदेशले मदन भण्डारी स्पोर्टस्को टिम रातोलाई १०९ रनले हराएको थियाे । 

Logo