इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा दुई महारथी म्यानचेस्टर सिटी र लिभरपुलको खेल बराबरीमा टुंगिएको छ। सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा भएको खेलमा यी दुई टोलीले १-१ को बराबरी खेलेका हुन्।
खेल निकै नै प्रतिस्पर्धात्मक थियो। दुवै टोलीले सोचे अनुरूपको प्रदर्शन भने गर्न सकेनन् र अंक तालिकाको शीर्ष स्थानमा अग्रता फराकिलो बनाउने अवसर गुमाए।
११औं मिनेटमा लिभरपुलका गोलरक्षक एलिसनले सिटीका फिल फोडेनको खुट्टामा सिधै बल दिएपछि सिटीले राम्रो अवसर पाएको थियो, टर फोडेनको प्रहार सिधैं एलिसनको हातमा पुग्यो।
२७औं मिनेटमा सिटीले खेलमा अग्रता लियो। रक्षक नेथन आकेले दुई डिफेन्डरलाई छक्याएर दिएको पासमा सिटीका कीर्तिमानी स्ट्राइकर एरलिङ हालान्डले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। यस गोल गरेसँगै उनी प्रिमियर लिग इतिहासमा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडी समेत बनेका छन्।
४४औं मिनेटमा बक्सको छेउ बाट फोडेनले गरेको प्रहार एलिसनले राम्रो बचाउ गरेका थिए। ५३औं मिनेटमा जुलियन अल्भारेजको प्रहार पोस्टको माथि बाट बाहिरिएपछि सिटीले अग्रता दोब्बर गर्ने सुनौलो अवसर गुमायो।
७२औं मिनेटमा डार्विन नुनेजको प्रहार बचाउन सिटी गोलरक्षक एडरसनले राम्रो बचाउ गर्नु पर्यो। ८०औं मिनेटमा भने लिभरपुलले खेलमा बराबरी गर्यो। मोहम्मद सालाहको पासमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डले राम्रो फिनिश गर्दै खेललाई बराबरीमा ल्याउँदै आफ्नो टोलीका लागि एक अंक हासिल गरेका थिए।
जित पछि सिटी १३ खेलमा २९ अंक सहित पहिलो स्थानमै रहँदा लिभरपुल समान १३ खेलमा २८ अंक सहित दोस्रो छ। तेस्रो स्थानमा रहेको आर्सनलको १२ खेलमा २७ अंक छ।





























प्रतिक्रिया