क्याटलान क्लब बार्सिलोना तीन वर्षको अन्तरालपछि युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।
घरेलु मैदानमा पोर्चुगिज टोली पोर्टोविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै बार्सिलोनाले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो। बार्सिलोनाका लागि जोआओ क्यान्सेलो र जाेआओ फेलिक्सले एक एक गोल गरे।
सुरुवाती समयमा बार्सिलोनाले बल आफूसँग धेरै राखेपनि मौका भने पोर्टोले सिर्जना गरिरहेको थियो। २६औँ मिनेटमा मेहदि तरेमीले गोल गरेपनि उनी अफसाइड रहेका थिए।
३०औं मिनेटमा पोर्टोले खेलमा अग्रता लियो। गलेनोको प्रहार बार्सिलोनाका गोलरक्षक इनाकी पेनाले बचाएपछि ब्राजिलियन खेलाडी पेपेले रिबाउन्डमा गोल गर्दै अग्रता दिलाएका थिए।
बार्सिलोनाले दुई मिनेटपछि नै खेलमा बराबरी गर्यो। डिफेन्डर जोआओ क्यान्सेलोले सुन्दर गोल गर्दै खेलमा बराबरी गरेका थिए। उनले पेड्रीको पास लिँदै एक डिफेन्डरलाई बिट गर्दै फार पोस्टमा गोल गरेका थिए।
३५औं मिनेटमा राफिन्हाको पासमा फेलिक्सले बक्स भित्र बाट सहज मौकालाई पोस्तमाथि प्रहार गरे। ४२औँ मिनेटमा पोर्टो गोलरक्षक डियाेगो कोस्टाले दिएको मौका बार्सिलोनाले सदुपयोग गर्न सकेन। उनले सोझै पेड्रीको खुट्टामा पास दिएपछि पेड्रीको।प्रहार ब्लक हुन पुग्यो र राफिन्हाले त्यसपछि पोस्टको बाहिर प्रहार गरे।
दोस्रो हाफको सुरुवाती समयमै जोआओ फेलिक्सले प्रहार गरेको शक्तिशाली प्रहार पोस्टमा लागेर बाहिरियो। ५७ औँ मिनेटमा भने बार्सिलोनाले खेलमा अग्रता लिन सफल भयो। जोआओ क्यान्सेलोको पासमा बक्स भित्रबाट सुन्दर फिनिश गर्दै फेलिक्सले बार्सिलोनालाई खेलमा अग्रता दिलाए।
८०औं मिनेटमा पोर्टोका गोलकर्ता पेपेले राम्रो मौका खेरा फाले। गोलरक्षक पेना बिट भइसकेको अवस्थामा उनले प्रहार नगरी क्रस गर्न खोज्दा मौका गुम्यो। अर्को तर्फ काउन्टरमा फेरान टोरसको प्रहार पोस्टको केही टाढाबाट बाहिरियो।
समूह एच मा बार्सिलोनाको ५ खेलबाट १२ अंक भएको छ। पोर्टो र शाख्तर दोनेत्स्कको समान ९-९ अंक छ। यी दुई टोली अन्तिम खेलमा एकअर्का सँग भिड्ने छन्। समूहमा पुछारमा रहेको रोयल एन्टवर्पको भने कुनै अंक रहेको छैन।





























प्रतिक्रिया