अन्तिम समयमा पेनाल्टी दिन पुग्दा इंग्लिस टोली न्युक्यासल युनाइटेड फ्रेन्च टोली पिएसजी विरुद्ध जितबाट बन्चित भएको छ।
पिएसजीको घरेलु मैदान प्रिन्सेस पार्कमा भएको खेल १-१ को बराबरीमा सकिएको हो। यस बराबरीले पिएसजी अंक तालिकाको दोस्रो स्थानमा न्युकासल भन्दा १ अंकले अघि बस्न सहयोग पुग्यो।
खेल न्युक्यासल युनाइटेडको पोल्टामा पर्ने लगभग पक्का भएको अवस्थामा घरेलु टोलीले पेनाल्टी पाएको थियो। न्युक्यासलका डिफेन्डर टोनी लिभ्रामेन्टोले ह्यान्डबल गरेपछि पेनाल्टी भएको थियो। इन्ज्युरी समयको आठौं मिनेटमा कीलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई महत्त्वपूर्ण एक अंक दिलाउन सफल भए।
यसअघि २४औं मिनेटमा न्युक्यासलले अलेकज्यान्डर ईसाकको गोलमा अग्रता लिएको थियो। मिगेल एल्मिरोनको प्रहार पिएसजी गोलरक्षक डोनारुमाले बचाएपछि रिबाउन्डमा ईसाकले गोल गरेका थिए।
यस्तै सोही समूहमा बोरुसिया डर्टमण्ड एसी मिलान विरुद्ध ३-१ को जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ। घरेलु मैदान सिग्नल इडूना पार्कमा भएको खेलमा डर्टमण्डका लागि मार्को राेइस, जेमी बाइनोई -गिटन्स र करिम अडेयेमीले समान एक एक गोल गरे। मिलानका लागि भने एक गोल सामुयल चुकवेजेले गरेका थिए।
यस समूहमा डर्टमण्ड ५ खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको पिएसजीको ७ अंक छ। न्युक्यासलको ६ अंक रहँदा मिलानको भने ५ अंक छ। अन्तिम चरणका खेलमा डर्टमण्ड र पिएसजी भिड्ने छन् भने न्युक्यासल र मिलान आमने-सामने हुनेछन्।





























प्रतिक्रिया