अल नासरको लज्जास्पद हार

अल नासरको लज्जास्पद हार

केन्द्रबिन्दु
0
Shares

पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले साउदी प्रो लिगमा लज्जास्पद हार बेहोरेको छ ।

अल नासरले १० खेलाडीमा सम्मिलित शीर्षस्थानमा रहेको अल हिलालसँग ३–० को हार बेहोरेको हो । अल हिलालको जितमा एलेक्सान्दर मित्रोभिचले दुई तथा सेर्गेज मिलिन्कोभिक सभिकले एक गोल गरे । सबै तीन गोल दोस्रो हाफमा नै सम्भव भएको थियो । योसँगै
अल हिलालले साउदी प्रो लिगमा ७ अङ्कको अग्रता बनाउन सफल भएको हो ।

खेलमा अल नासरले बल पोसेसन राखेपनि फिनिसिङमा चुक्दा लिगमा तेस्रो हार बेहोर्न पुग्यो । यता, अल हिलालले भने पाएको मौकालाई सदुपयोग गर्दै लिगमा अपराजित रहन सफल भयो ।

किङ फाद इन्टरनेसनल स्टेडियम रियादमा शुक्रबार राति ५० हजार बढी दर्शकमाझ भएको खेलको ६४औं मिनेटमा सेर्गेज मिलिन्कोभिक सभिकले गोल गर्दै अल हिलाललाई १–० को अग्रता दिलाए । उनले साउद अब्दुलहामिदको पासमा गोल गर्न सफल भएका थिए । ७५औं मिनेटमा रोनाल्डोले बराबरी गोल गरेपनि भिएआरबाट गोलले मान्यता पाएन । त्यसपछिको दुवै गोल एलेक्सान्दर मित्रोभिचको नाममा रह्यो । ८९औं मिनेटमा एलेक्सान्दर मित्रोभिचले गोल गर्दै अल हिलालको अग्रता दोब्बर पारे । 

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा अल हिलाल १० खेलाडीमा समेटिन पुग्यो । अलि अल बोलेही सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अल हिलाल १० खेलाडीमा समेटियो । ११ मिनेटको समय थप गरिएपनि अल नासरले त्यसको फाइदा उठाउन सकेन ।

Logo