नेपालले एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो हार व्यहोरेको छ । आइतबार भएको खेलमा अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित भएको हो ।
युनाइटेड अरब इमिरेटस् (युएई)को दुबईमा २६२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा अलआउट हुँदै १८८ रनमा समेटिएको हो । नेपालका लागि अजुर्न कुमालले शतकीय इनिङबाट चुके । १०८ बल खेलेका उनले १३ चौकाको मदतमा ९१ रन जोडे तर, टोलीलाई जिताउन भने चुके । उनलाई क्रिजमा अन्य खेलाडीले भरपर्दो साथ दिन सकेनन् ।
त्यसअघि नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६१ रन बनाएको थियो । अफगानिस्तानका लागि जाम्शिद जद्रानले शतकीय पारी खेले । उनने एक सय ५२ बल खेल्दै आठ चौकाको मद्दतमा एक सय ६ रनको योगदान दिए । यस्तै नौमान साह अघाले ६० रन बनाए । उनले ४१ बल खेल्ने क्रममा पाँच चौका र तीन छक्का प्रहार गरे ।
यसैगरी राहिमुल्लाह जुरमातीले ३५, वाफिउल्लाह ताराखिलले १५ तथा खालिद तानिवालले १० रन बनाए ।
बलिङतर्फ नेपालका लागि हेमन्त धामी, गुलशन झा र सुभाष भण्डारीले दुई/दुई तथा दीपेश कँडेल र आकाश चन्दले एक एक विकेट लिए ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियाे । उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’ मा युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन् । नेपालले समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ।
समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुस १ मा हुनेछ।





























प्रतिक्रिया