नेपालले एसिसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतविरुद्ध लज्जास्पद ब्याटिङ गरेको छ ।
दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अलआउट हुँदै ५२ रन बनाएको हो । लज्जास्पद विषय त यो छ की आजको खेलमा क्रिजमा उत्रिएका कुनै पनि खेलाडीले दोहोरो रन छुन सकेनन् । यसअघिका खेलमा शिर्षक्रमका ब्याटर नचलेपनि मध्यम क्रमका ब्याटर क्रिजमा टिक्थे तर, त्यो खेल आज देख्न पाइएन ।
नेपालले अन्तिम विकेटको रुपमा गुमाएको हेमन्त थापाले सर्वाधिक ८ रन जोडे । १०औं नंबरमा ब्याटिङमा आएका उनले १८ बलमा एक चौकाको मदतमा ८ रन जोडेका हुन् । आकाश चन्द ४ रनमा नटआउट रहे ।
९ रन बनाउँदा पहिलो विकेटको रुपमा नेपालले ओपनर दिपक बोहरालाई गुमाएको थियो । ४.१ ओभरमा ११ बल खेलेका दिपक १ रनमै क्याचआउट भएका थिए । ६.२ ओभरमा नेपालले तेस्रो खेलाडीको रुपमा क्रिजमा उत्रिएका उत्तमरानामगरलाई पनि गुमायो । पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गरेका उनी आज भने शून्य रनमै पवेलियन फर्किए । ७ बल खेल्दा पनि उनले खाता खोल्न सकेनन् ।
७.३ ओभरमा अफगानिस्तानविरुद्ध ९१ रन बनाएका युवा ब्याटर अर्जुन कुमाल ७ रनमा क्याच आउट भए । अर्जुन तीव्र गतिका बलर आराधाय शुक्लाको बलमा कभरमा सट खेल्ने धुनमा मुशिर अहमदबाट क्याच आउट भएका थिए । कप्तान देव खनाल ८.५ ओभरमा २ रनमा क्याच आउट भए । देव एज लागेर विकेटकिपर अरवेली अवानिशबाट क्याच आउट भए । उनले यसअघिका खेलमा पनि राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । प्रतियोगितामा उनको प्रदर्शन सम्झनलायक रहेन । लगत्तै अर्को बलमा दीपक डुम्रे बोल्ड आउट हुँदै गोल्डेन डक पवेलियन फर्किए ।
१०औं ओभरको पाँचौ बलमा गुल्सन झा ४ रनमा एलबीडब्लू आउट भए । उनी राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन्, उनी भरपर्दा युवा अलराउण्डर हुन् । तर, उनको अनुभव यस प्रतियोगितामा खासै चल्न सकेन । अर्का दिपक बोहरा पनि ७ रनमै आउट भए ।
बलिङमा भारतका राज लिम्बानी एक्लैले ७ विकेट लिए । आरध्य शुक्लाले २ विकेट लिए ।





























प्रतिक्रिया