भारतसँग १० विकेटले पराजित हुँदै एसिया कपबाट बाहिरियो नेपाल

भारतसँग १० विकेटले पराजित हुँदै एसिया कपबाट बाहिरियो नेपाल


संयुक्त अरब इमिरेट्स (युएई)मा जारीे एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताबाट नेपाल जितविहीन हुँदै बाहिरिएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँत १० विकेटको लज्जास्पद हार व्यहाेरेको हो । 

दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा ५३ रनको झिनो विजयी लक्ष्य पछ्याएको भारतले ७.१ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्न सफल भयो । भारतका लागि ओपनर अरसिन कुलकर्नीले सर्वाधिक ४३ रन जोडे । त्यस्तै, अर्का ओपनर आदर्श सिंहले १३ रन बनाए । नेपालका कुनै पनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अलआउट हुँदै मात्र ५२ रन बनाएको थियो । लज्जास्पद विषय त यो छ की आजको खेलमा क्रिजमा उत्रिएका कुनै पनि खेलाडीले दोहोरो रन छुन सकेनन् । यसअघिका खेलमा शिर्षक्रमका ब्याटर नचलेपनि मध्यम क्रमका ब्याटर क्रिजमा टिक्थे तर, त्यो खेल आज देख्न पाइएन । खेलको आरम्भदेखि नै नेपालले भारतसामु निकै दबाबमा ब्याटिङ गरेको थियो । नेपालका कुनै पनि खेलाडीले खुलेर ब्याटिङ गर्न सकेनन् ।

May be an image of 2 people

नेपालले अन्तिम विकेटको रुपमा गुमाएको हेमन्त थापाले सर्वाधिक ८ रन जोडे । १०औं नंबरमा ब्याटिङमा आएका उनले १८ बलमा एक चौकाको मदतमा ८ रन जोडेका हुन् । आकाश चन्द ४ रनमा नटआउट रहे । 

९ रन बनाउँदा पहिलो विकेटको रुपमा नेपालले ओपनर दिपक बोहरालाई गुमाएको थियो । ४.१ ओभरमा ११ बल खेलेका दिपक १ रनमै क्याचआउट भएका थिए । ६.२ ओभरमा नेपालले तेस्रो खेलाडीको रुपमा क्रिजमा उत्रिएका उत्तमरानामगरलाई पनि गुमायो । पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गरेका उनी आज भने शून्य रनमै पवेलियन फर्किए । ७ बल खेल्दा पनि उनले खाता खोल्न सकेनन् । 

May be an image of 2 people and text

७.३ ओभरमा अफगानिस्तानविरुद्ध ९१ रन बनाएका युवा ब्याटर अर्जुन कुमाल ७ रनमा क्याच आउट भए । अर्जुन तीव्र गतिका बलर आराधाय शुक्लाको बलमा कभरमा सट खेल्ने धुनमा मुशिर अहमदबाट क्याच आउट भएका थिए । कप्तान देव खनाल ८.५ ओभरमा २ रनमा क्याच आउट भए । देव एज लागेर विकेटकिपर अरवेली अवानिशबाट क्याच आउट भए । उनले यसअघिका खेलमा पनि राम्रो प्रदर्शन गर्न सकेका थिएनन्  । प्रतियोगितामा उनको प्रदर्शन सम्झनलायक रहेन । लगत्तै अर्को बलमा दीपक डुम्रे बोल्ड आउट हुँदै गोल्डेन डक पवेलियन फर्किए ।

१०औं ओभरको पाँचौ बलमा गुल्सन झा ४ रनमा एलबीडब्लू आउट भए । उनी राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन्, उनी भरपर्दा युवा अलराउण्डर हुन् । तर, उनको अनुभव यस प्रतियोगितामा खासै चल्न सकेन । अर्का दिपक बोहरा पनि ७ रनमै आउट भए । 

May be an image of 4 people

नेपाली पारीलाई न्यून स्कोरमा समेट्ने क्रममा भारतका राज लिमबानीले सात विकेट लिए । उनले नौ दशमलव एक ओभर बलिङ गर्ने क्रममा तीन मेडन राख्दै मात्र १३ रन खर्चिए । यस्तै आराध्य शुक्लाले दुई तथा अरसिन कुलकर्नीले एक विकेट लिए । 

समूह ए मा रहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटको हार व्यहाेरेको थियाे भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले स्तब्ध बन्याे । नेपाल सबै खेलमा पराजित भएर अंकविहिन छ ।

Logo