नेपाल हक्की संघले वार्षिक कार्यक्रमसार्वजनिक गरेको छ। मंगलबार सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा भएको कार्यक्रममा हक्की संघले कार्यक्रम सार्वजनिक गरेको हो।
संघले पुसमा हेटौंडामा अन्तरनगरपालिका हक्की प्रतियोगिता आयोजना गर्ने भएको छ। जनकपुरमा माघको अन्तिम साता मदन भण्डारी कप महिला राष्ट्रिय हक्की प्रतियोगिता, धुलिखेलमा फागुनको अन्तिम साता सहाना प्रधान राष्ट्रिय महिला हक्की प्रतियोगिता र विराटनगरमा चैतको अन्तिम साता गिरीजाप्रसाद कोइराला राष्ट्रिय पुरुष हक्की प्रतियोगिता गर्ने जानकारी दिइएको छ।
मदन भण्डारी कप पहिलोपटक हुन लागेको हो भने सहाना प्रधान र गिरीजा कोइरालाको स्मृतिमा हुन लागेको प्रतियोगिता विगतकै निरन्तरता हो। त्यस्तै बैशाख अन्तिम साता प्रदेशस्तरीय पुरुष तथा महिला हक्की प्रतियोगिता गर्ने हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए। उक्त प्रतियोगिता हेटौडा वा चितवनमा गर्ने संघको योजना छ।
जेठको अन्तिम साता पोखरामा पुरुष तथा महिला इन्डोर हक्की प्रतियोगिता गर्ने संघले बताएको छ। काठमाडौं वा ललितपुरमा भेट्रान कप गर्ने भएको छ। मिति भनेपछि तय गरिने छ। संघको पहिलो वार्षिक कार्यक्रमका रुपमा रहेको डिएनएसएस लेभल– २ प्रशिक्षक तालिम भने मंगलबार सम्पन्न भएको छ। नेपाल ओलम्पिक कमिटीको सहयोगमा भएको तालिमको समापनका अवसरमा वार्षिक कार्यक्रम घोषणा गरिएको हो। साताव्यापी तालिममा १९ प्रशिक्षक सहभागी थिए।
प्रतिक्रिया