युरोपियन फुटबलमा अदालतको ऐतिहासिक फैसला, नयाँ सुपर लिगको घोषणा

युरोपियन फुटबलमा अदालतको ऐतिहासिक फैसला, नयाँ सुपर लिगको घोषणा

केन्द्रबिन्दु
0
Shares

युरोपको सर्वोच्च अदालतले बिहीबार प्रतिद्वन्द्वी सुपर लिगको निर्माण रोक्ने फुटबल प्रशासक निकाय युइएफए र फिफाको कदमले युरोपेली युनियन (इयु) को कानूनलाई तोडेको फैसला गरेपछि युरोपियन सुपर लिगको घोषणा गरिएको छ।

युरोपियन अदालतको फैसलाको ब्याख्या जारी रहेको बेला सुपर लिगका आयोजकहरुले पुरुष तर्फ ६४ र महिला तर्फ ३२ क्लबले सुपर लिगमा प्रतिष्पर्धा गर्ने घोषणा गरेका हुन्।

यस लिगको संचालक स्पोर्ट्स कन्सल्टिङ फर्म ए २२ का सिइओ बेर्नाड रेइचार्टले युरोपियन सुपर लिगको घोषणा गर्दै यी खेलहरु नि: शूल्क रुपमा देखाउने घोषणा गरेका छन्। उनले युरोपका उत्कृष्ट ६४ क्लबलाई तीन तहमा विभाजन गरेर सुरुमा लिग र त्यसपछि नकआउट चरणमा खेलाउने बताएका छन्। 

यस प्रतियोगितामा कुनै पनि क्लब सदस्य नहुने र मेरिटका आधारमा हरेक बर्ष छानिने जानकारी दिएका छन्। यो लिगका तीन तहको नाम स्टार, गोल्ड र ब्लू दिइएको छ भने  हरेक बर्ष सेप्टेम्बरदेखि अप्रिलसम्म यो लिग खेलिने बताइएको छ। जसमा स्टार र गोल्ड लिगमा १६-१६ क्लब हुने छन् भने ब्लु लिगमा ३२ क्लब हुने बताइएको छ। 

स्टार र गोल्ड लिगका क्लबलाई ८-८ टिमको समुहमा विभाजन गरिने बताइएको छ। होम र अवे आधारमा खेलेपछि सबै समूहका शिर्ष ४-४ टिमलाई नकआउटमा प्रवेश दिइने बताइएको छ।

यस अघि २०२१ मा रियल म्याड्रिडको नेतृत्वमा युरोपियन सुपर लिगको अवधारणा ल्याइएको थियो। जसलाई बार्सिलोना, म्यानचेस्टर सिटी, युभेन्टस जस्ता क्लबले सुरुमा साथ दिएका थिए। तर फुटबलको सर्वोच्च संस्था फिफा र युइएफएले यसलाई संस्थागत हुनबाट रोकेपछि यो विषय त्यतिकै सेलाएको थियो र अदालतमा पुगेको थियो। 

अहिले युरोपेली न्यायालयले फैसलामा फिफा र युइएफएले सुपर लिगजस्ता कुनै पनि नयाँ इन्टरक्लब फुटबल परियोजनाहरूलाई उनीहरूको पूर्व स्वीकृतिको अधीनमा राख्ने र क्लब तथा खेलाडीहरूलाई ती प्रतियोगिताहरूमा खेल्न निषेध गर्ने नियमहरू गैरकानूनी रहेको बताएपनि एकथरीले नयाँ लिग सुरु गर्न सहज नहुने टिप्पणी गरिरहेका बेला नयाँ लिगको घोषणा गरिएको  भइरहेको छ।

सुपर लिग आयोजना प्रवर्द्धन गर्ने कम्पनी ए २२ स्पोर्ट्सले फैसलाबाट आफ्नो विजय भएको दाबी गरेको छ र लिगको घोषणा गरेको छ। यद्यपि यसको आगामी दिनमा विश्व फुटबलमा कस्तो असर पर्छ भन्ने अहिले नै यकिन साथ भन्ने अवस्था देखिँदैन।

Skip This
Skip This
Logo