राष्ट्रिय टिम बुद्धिचाल च्याम्पियनसिपको उपाधि दोलखालाई

राष्ट्रिय टिम बुद्धिचाल च्याम्पियनसिपको उपाधि दोलखालाई

केन्द्रबिन्दु
0
Shares

पहिलो प्रयासमै दोलखा चेस होम नेपाल तुलसीलाल स्मृति राष्ट्रिय टिम बुद्धिचाल प्रतियोगिताको छैटौं संस्करण विजेता बनेको छ । 

भक्तपुर डिस्ट्रिक्ट सीए प्रतियोगिताको उपविजेता र कोशी प्रोभिन्स सीएले बुद्धिचाल प्रतियोगितामा तेस्रो स्थान हात पारे । प्रतियोगितामा मकवानपुर डिस्ट्रिक्ट सीए चौथो स्थान रह्यो । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भएको छैटौं तुलसीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा शनिबार सम्पन्न फाइनलमा भक्तपुर जिल्ला बुद्धिचाल संघलाई हराउँदै दोलखाले उपाधि जितेको हो । उपाधि जित्ने क्रममा दोलखाले भक्तपुरलाई ३–५ र ०–५ ले पराजित ग-यो ।  

टिमलाई उपाधि जिताउने क्रममा दोलखामा वर्तमान नेपाल च्याम्पियन रुपेस जैसवालले युवा खेलाडी पुरुषोत्तम सिलवाललाई पराजित गर्दा दोलखाका सुश्रुत दाहालले भक्तपुरका विकास चोकामीसँग बराबरी खेले ।

त्यस्तै दोलखाका मुहान नर्सिङ श्रेष्ठ र सुजना लोहनीले क्रमशः भक्तपुरका स्वर्णिम दुवाल र अभिक शाहलाई पराजित गरे । यस्तै आज नै भएको अर्को खेलमा मकवानपुर जिल्ला चेस संघलाई २–५ र  १–५ ले पराजित गर्दै कोशी प्रदेश प्रतियोगितामा तेस्रो भएको छ ।

प्रतियोगिताको उपाधि जितेसँगै दोलखाले ट्रफीसँग २ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता भक्तपुरले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गरेको कोशीले ६० हजार र चौथो भएको मकवानपुरले ४० हजार नगद पुरस्कारसँगै मेडल र सम्मानपत्र प्राप्त गरेका छन् । 

त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १० हजार पुरस्कार प्रदान गरिएको छ । बोर्ड नम्बर एकको गोल्ड मेडलिस्ट दोलखा चेस होमका एफएम रुपेश जैसवाल बने । बोर्ड नम्बर दुईको विजेतामा ८३.३ प्रतिशत अंक ल्याएका कास्की जिल्ला बुद्धिचाल संघका सागर साई चुनिए । तेस्रो बोर्डमा ललितपुर स्पोर्टस क्लबका रिसोन थापाले ९२.९ प्रतिशत अंक ल्याएर प्रथम हुँदा मकवानपुरकी अनुष्णा गौतमले ८५.७ प्रतिशत अंक ल्याएर चौथो बोर्ड फस्र्ट बनिन् । ८३.३ प्रतिशत अंक ल्याएर सुशील चौधरीले पाँचौ टेबलको खेलमा बोर्ड टप गरे । 

राष्ट्रिय स्तरका उत्कृष्ट १९ क्लबले प्रतिस्पर्धा गरेको प्रतियोगिताको कुल पुरस्कार राशि ४ लाख ७० हजारको थियो ।

कार्यक्रममा वाग्मतीका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले बुद्धिचाल खेलको विकासका लागि वाग्मती प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताएका थिए । 

Logo