‘कोरोनाको महामारीपछि नेपालको खेलकूद लयमा फर्किन्छ’ : खेलकुदमन्त्री विश्वकर्मा

‘कोरोनाको महामारीपछि नेपालको खेलकूद लयमा फर्किन्छ’ : खेलकुदमन्त्री विश्वकर्मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले कोरोना भाइरसको महामारीपछि नेपालको खेलकूद लयमा फर्कने बताएका छन् । आर्थिक वर्ष २०७७/७८ को विनियोजन शीर्षकमाथिको छलफलमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री विश्वकर्माले महामारीकै कारण सरकारले खेलकूदका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकिएको स्पष्ट पारे ।

“पुरानै तथा अत्यावश्यक काममा मात्र खर्च गरिनेछ’’, उनले भने । अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५ गते आगामी आवका लागि प्रस्तुत गरेको बजेटमा मन्त्रालयका लागि दुई अर्ब ३८ करोड बजेट विनियोजन भएको थियो । उक्त बजेटमध्ये स्थानीय तहमा सञ्चालित खेलग्रामका लागि रु ४० करोड विनियोजन गरिएको छ । चालु आवमा ८४ स्थानीय तहमा खेलग्राम अन्तर्गत बजेट विनियोजन भई काम भइरहेको छ । ’’ आगामी आवमा ती पुरानै संरचना निर्माण सम्पन्न गरिनेछन्, केही पालिकामा पूर्वाधार निर्माणको काम अघि बढाइने छ’’, मन्त्री विश्वकर्माले भने ।

सरकारले विभिन्न खेल संघलाई बजेट विनियोजन गरेको र खेलाडीका लागि दुर्घटना बीमालगायत कामका लागि बजेट विनियोजन गरेको उनले जानकारी दिए । गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३ औँ सागमा ऐतिहासिक जीत हासिल भएको छ भन्दै मन्त्री विश्वकर्माले उक्त सागका स्वर्ण पदक विजेतालाई मासिक रु छ हजार उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको बताए । केही सांसदले मन्त्रीका क्षेत्रमा बजेट केन्द्रीत रहेको आरोपको खण्डन गर्दै उनले बजेट कुनै क्षेत्र र तहमा केन्द्रीत नरहेको स्पष्ट पारे । विगतमा अघि बढाइएका संरचना निर्माणमा बजेट खर्च गरिने र बाँकी भौतिक पूर्वाधार निर्माणका काम आगामी वर्षमा गरिने उनको भनाइ थियो ।

आगामी फागुनमा गण्डकी प्रदेशका ११ जिल्लासहित पोखरामा नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्न बजेट विनियोजन गरिएको जानकारी दिँदै उनले दशौँ राष्ट्रिय खेलकूद कर्णाली वा प्रदेश नं २ मा आयोजना गर्ने सरकारको योजना रहेको बताए । सरकारले इटहरी, जनकपुरधाम, पोखरा, वीरगञ्ज, वीरेन्द्रनगर, नेपालगञ्ज र धनगढीस्थित रंगशालालाई प्रदेशस्तरीय रंगशालाका रुपमा निर्माण गर्न बजेट विनियोजन गरेको उनले उल्लेख गरे । आफ्नो कार्यकालमा विभिन्न खेल संघको विवाद समाधान गरिएको उनले स्पष्ट पारे । उनका अनुसार काठमाडौँको मूलपानीसहित देशका नौ ठाउँमा क्रिकेट रंगशाला निर्माण अघि बढाइएको छ ।

Logo