काठमाडौं ।
अस्ट्रियाको ब्रिगेन्जमा मे २८ देखि ३० तारिखसम्म भएको अन्तर्राष्ट्रिय पेन्डामिक भर्चुअल गेम्समा नेपाली उमा कुङफु खेलाडीले ४ स्वर्ण पदक जितेका छन् । विश्व मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) ले आयोजना गरेको अनलाइन प्रतियोगितामा नेपालले ४ स्वर्णसहित २ रजत र १ कांस्य गरि कूल ७ पदक जितेको हो ।
प्रतियोगितामा नेपालका कमल मगर र सञ्जयराज पुटुवारले भने दोहोरो पदक जितेको नेपाल उमा कुङफु संघले जानकारी दिएको छ । पुरुष ताइचीको सफ्ट स्टायलमा कमलले स्वर्ण जिते भने नन् ट्रेडिसनल वेपनमा कांस्य हात पारे । पुरुषतर्फ सञ्जयले सफ्ट स्टायल तथा ट्रेडिसनल वेपन दुवै विधामा रजत प्राप्त गरे । महिला ताइचीको सफ्ट स्टायलमा मुन्नी सुवेदी तामाङले स्वर्ण जित्न सफल भइन् । महिला ताइचीमा जमुना गुरुङ तथा पुरुष फम्स विथ म्युजिकमा सुदीप श्रेष्ठले स्वर्ण जिते ।
प्रतियोगितामा विभिन्न चार महादेशबाट १४ राष्ट्रका २ सय ३३ खेलाडी प्रतिस्पर्धामा सहभागि भएका थिए । नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबैले पदक जित्न सफल भएका हुन् । खेलाडीले आफूले सहभागिता जनाउने स्पर्धाको १ देखि ३ मिनेट सम्मको श्रब्यदृष्य डब्लुएमएसीमा पठाउनु पर्ने थियो । एक स्पर्धाका लागि खेलाडीले १५ युरो दर्ता शुल्क तोकिएको थियो । एक भन्दा बढी स्पर्धामा भाग लिनु पर्ने भए अतिरिक्त ५ युरो तिर्नु पर्ने थियो ।
डब्लुएमएसीले कोरोना भाइरस (कोभिड–१९) कारण आफ्नो सम्पूर्ण वार्षिक प्रतियोगिता स्थगित गर्नु परेपछि यो भर्चुअल प्रतियोगिता आयोजना गरेको हो ।डब्लुएमएसीले अहिलेको यो विषम परिस्थितीमा भर्चुअल प्रतियोगिता आयोजना गरेर खेलाडीको मनोबल उच्च पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताएको छ ।































प्रतिक्रिया