काठमाडौं ।
अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा विवादमा तानिएका छन् । एक अनलाईनमा दिएको भिडियो संवादमा शेर्पाले तराईका चार जिल्लामा संचालन गरिएको ‘ग्रासरुट’ फुटबलको विषयमा दिएको अभिव्यक्तिले विवादमा तानिएका हुन् ।
गत जेठ ४ गते अमेरिकाबाट सञ्चालिन अनलाइन पोर्टल दुर्बिन नेपालको फेसबुक लाइभमा अध्यक्ष शेर्पाले प्रसंगका क्रममा भनेका छन्, ‘नेपाल आर्मीसँग मिलेर तराईका चार जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी)मा ग्रासरुट सुरु गरेका छौं । किन गर्यौं भन्दा, दुई कारणले गर्यौं । पहिलो तराईका बच्चालाई फुटबलतर्फ आकर्षित गर्न र अर्को कुरा राष्ट्रियता सिकाउनका लागि । तराईतिर जाँदा खेरी राष्ट्रियताको फिलिङ अलिकती कम छ । आर्मीसँग ग्रासरुटको कार्यक्रमको प्रशिक्षण सिक्न आउँदा, आर्मीको ब्यारेकमा आउँदा, राष्ट्रिय गित गाउने, नेपालको बिषयमा चर्चा हुने र फुटबलका माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले काम गरिरहेका छौं ।’
सोही भनाइलाई लिएर संघीय संसदको बुधबारको बैठकमा नेपाली समाजमा विभेदको विजारोपण गरेको भन्दै समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले उनलाई कारबाहीको माग गरेका छन् । श्रीवास्तावले बुधबार संसदको शून्य समयमा बोल्दै भने, ‘फुटबल संघका अध्यक्ष शेर्पाले नेपाली समाजमा विभेदको विजारोपण गरेको बुझिएको छ । उहाँहरूले मधेसीहरुलाई सेनाको माध्यम लगाएर राष्ट्रिय गान सिकाउँदै छु भन्ने जस्ता अभिव्यक्ति दिनु भएको हुनाले छानबिन गरी आवश्यक कारबाहीको लागि सम्माननीय सभामुखमार्फत ध्यानाकर्षण गराउँछु ।’
तर एन्फा अध्यक्ष शेर्पाले बिषयलाई तोडमोड गरेर अतिरञ्जित गरिएको प्रतिक्रिया दिएका छन् । ‘भनाइ तोडमोड गरेर षडयन्त्र गरिएको छ । यसको भण्डाफोर हुनेछ ।’ उनले भने । त्यस्तै उनले घटनाको कानुनी रुपमा जवाफ दिईने पनि बताएका छन् । अध्यक्ष शेर्पाले आफ्नो पूरै भिडियो हेरेर मात्र प्रतिक्रिया दिन आग्रह गरेका छन् । ‘पूरै भिडियो हेर्दा हुन्छ । काँटछाट गरेर गलत गरिकाले प्रचार गर्न खोजिएको छ ।’ उनले भनेका छन् ।
उनले मधेशको राष्ट्रियताको सवालमा कहिल्यै प्रश्न नगरेको भन्दै आफूले राष्ट्रियताको भावना बलियो बनाउन निरन्तर लागिरहेको उल्लेख गरेका छन् । ‘मधेशमै फुटबलको केन्द्र बनाउने उद्देश्यले काम गरिरहेका छौं । महिला एकेडेमी बनाएका छौं । विभिन्न फुटबल परियोजना सञ्चालन गर्दैछौं ।’ उनले भने , ‘फुटबलको माध्यमबाट राष्ट्रियताको भावना बलियो बनाउने काममा लागिरहेका छौं र लागिरहने छौं ।’































प्रतिक्रिया