काठमाडौं ।
नेपालमा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कार सम्बन्धित खेलाडीहरुको बैंक खातामा पठाइएको छ ।
साग सम्पन्न भएको झण्डै चार महिनापछि सरकारले सबै पदकधारी खेलाडीको खातामा पुरस्कार रकम पठाएको हो । युवा तथा खेलकुद मन्त्रालयले सागका ४ सय ३५ जना पदकधारी खेलाडीको खातामा १९ करोड ५३ लाख रुपैयाँ पुरस्कार स्वरुपको रकम पठाएको हो । त्यसमध्ये ९२ पदक विजेताको ३ करोड ६३ लाख तथा ८७ खेलाडीको ४ करोड ८२ लाख रुपैयाँ गत चैत मसान्तमै खेलाडीको खातामा पठाइएको थियो ।
चैत मसान्तबाट खेलाडीको खातामा पैसा हाल्न सुरु गरेको मन्त्रालयले बुधबार सबै पदक विजेता खेलाडीको खातामा पैसा पठाएको हो । १३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कांस्य गरी कुल २०७ पदक जितेको थियो । १३ औं सागको उपलब्धी नेपालले दक्षिण एसियाली खेलकुदमा हासिल गरेको अहिले सम्मकै ठूलो उपलब्धी हो ।
उपत्यका भित्रका (एभरेष्ट बैक) खातावाला खेलाडीहरुले पुरस्कार रकम बुधबार नै प्राप्त गरेका छन् भने बाहिर जिल्लाका खेलाडीको खातामा राखिएको पैसा बिहीबार ट्रान्सफर गरिएको छ । मन्त्रालयले उपलब्ध गराएको खेलाडीको नामावली अनुसार कोष तथा लेखा नियन्त्रण कार्यालयले निकासा भएको पैसा वितरण गरेको हो ।
मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले विशेष कार्यक्रमको आयोजना गरेर प्रधानमन्त्री केपी ओलीको हातबाट पुरस्कार रकम वितरण गर्ने योजना बनाएका थिए । तर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था र पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण सार्वजनिक कार्यक्रम आयोजना गर्न सकेनन् । सोही अनुसार प्रधानमन्त्रीको निर्देशनमा मन्त्रालयले चैत १३ गते निकासा भएको रकमलाई मन्त्रालयले खेलाडीको खातामा सिधै वितरण गरेको हो ।
कसले कति पाए ?
सरकारले व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख र एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाखका दरले पुरस्कार रकम वितरण गरेको छ । यस्तै, ब्यक्तिगत स्पर्धामा रजत जित्नेले ६ लाख र कास्य जित्ने खेलाडीले ३ लाख रुपैयाँ पाएका छन् । त्यस्तै, टिम इभेन्ट्समा स्वर्ण जित्ने खेलाडीले ६ लाख, रजत जित्नेले ४ लाख र कास्य जित्ने खेलाडीले २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।































प्रतिक्रिया