कोरोना भाइरसका कारण रोकिएका सम्पूर्ण फुटबल गतिविधिहरु सुरु गर्न हतार गर्न नहुने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बताएको छ । फिफा अध्यक्ष जियानी ईन्फान्टिनोले फुटबललाई जति सक्दो चाँडो सुरु गर्न खोज्नु गैरजिम्मेवार हुने तर्क अघि सारेका छन् ।
‘खेल नहुनु, प्रतियोगिता नहुनु, लिग नहुनु भनेको कुनै पनि मानिसमाथि खतरा नमोल्नु हो, खतरा मोल्नु भन्दा केही समय पर्खनु नै राम्रो हुन्छ ।’ ईन्फान्टिनोले भनेका छन् ।
कोरोनाका कारण विश्वभरका घरेलु फुटबल स्थगित अवस्थामा छ । महामारीकै कारण युरो २०२० र कोपा अमेरिका एक बर्ष पछाडी धलेकिएको छ ।
विश्वभर महामारी फैलिएपनि केही देशमा भने फुटबल सञ्चालन भइरहेको छ । बेलारुस, बुरुन्डी, ताजकिस्तान जस्ता देशको घरेलु फुटबल चलिरहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष ईन्फान्टिनोले सुरक्षा नै पहिलो प्राथमिकतामा पर्ने उल्लेख गरेका छन् ।
उनले सदस्य संघलाई भनेका छन्, ‘हाम्रो पहिलो प्राथमिकता, हाम्रो सिद्धान्त, हामी आफ्ना प्रतियोगिताको लागि उपयोग गर्नेछौं । र सबैलाई पालना गर्न प्रोत्साहीत गर्नेछौ । तर, स्वास्थ्य पहिलो प्राथमिकतामा आउनेछ ।’
विश्वभर फुटबललाई कसरी सुरुवात गर्ने भन्ने बिषयमा छलफल भइरहेको छ । विश्वभरका अधिकांश क्लबले खेलाडीको तलब कटौती गर्दै वर्तमान वित्तिय संकटलाई टार्दै आएका छन् । ‘शतप्रतिशत सुरक्षित नभएको अवस्थामा फुटबल पुनः सुरु गर्न दबाब दिनु गैरजिम्मेवारीपन हो ।’ उनले भनेका छन् ।





























प्रतिक्रिया