नेपालले एसियन भलिबल च्याम्पियनसिप खेल्ने पक्का

नेपालले एसियन भलिबल च्याम्पियनसिप खेल्ने पक्का

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालको सिनियर राष्ट्रिय महिला भलिबल टिमले एसियन च्याम्पियनसिप खेल्ने पक्का भएको छ । एसियन भलिबल महासंघ (एभीसी)को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेको हो ।

नेपाल भलिबल संघले चीनमा आयोजना हुने प्रतियोगितामा नेपालबाट दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो । चाईना भलिबल संघले आयोजना गर्ने एसियन च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुँदैछ । प्रतियोगितामा आयोजक चीनसहित १६ टिमले सहभागीता जनाउनेछन् ।

सेन्ट्रल जोन, मध्य इस्ट जोन र वेस्ट जोनबाट कुनैपनि देशले दाबी प्रस्तुत नगरेपछि उज्वेकिस्तान, श्रीलंका र नेपाल खेल्ने गरि बैठकले निर्णय गरेको हो । बाँकी १० राष्ट्र मध्य सेन्ट्रल जोनबाट नियमित प्रतियोगिता खेलिरहेका इरान, ताजकिस्तान र भारत वरियताका आधारमा सिधै छनोट भएका छन् ।

कोभिड–१९ को अवस्था हेरेर एभीसीले प्रतियोगिता हुनु दुई महिना अघि खेल हुने÷नहुने विषयमा पक्का गर्ने बताएको छ । कोभिडकै कारणले गत फागुनमा विच भलिबल समेत स्थगित बनेको थियो ।

गत वर्ष नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको महिला टिमले ऐतिहासिक रजत पदक जितेको थियो । फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित बनेको नेपालले ऐतिहासिक रजत पदक भने प्राप्त गरेको थियो । साग अघि बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलमा नेपालको महिला टिमले स्वर्ण पदक जितेको थियो । भलिबलको इतिहासमा सेन्ट्रल जोनमा नेपालले ऐतिहासिक स्वर्ण पदक हात पारेको थियो । महिला टिमको पछिल्लो प्रर्दशनलाई आधार मानेर नेपाल भलिबल संघले एसियन च्याम्पियनसिपमा नेपालबाट दाबी प्रस्तुत गर्ने निर्णय गरेको थियो ।

Logo