काठमाडौं ।
नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व वरीयतामा नयाँ रेकर्ड कायम गरेका छन् । विश्व ब्याडमिन्टन महासङ्घ बीडब्ल्यूएफले सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स सातौँ स्थानमा उक्लिएका हुन् । अघिल्लो महिना ११ औं स्थानमा रहेका उनी हालै मात्र १० औँ स्थानमा उक्लिएका थिए ।
विश्व जुनियर ब्याडमिन्टनमा प्रिन्सले हात पारेको यो अहिलेसम्मकै ठूलो वरीयता हो । उनी भर्खरै जर्मनीमा भएको जर्मन इन्टरनेसनल सिरिजमा अन्तिम १६ सम्म पुगेका थिए । जुनियर वरियताको शीर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ रहेका छन् भने भारतका मेइरावा लुवाङ दोस्रो स्थानमा छन् । त्यस्तै, तेस्रो स्थानमा मलेसियाका कोक जिङ होङ, चौथो स्थानमा भारतका भरुण कपुर, पाँचौ स्थानमा डेनमार्कका म्याड्स जुवेल मोलर र छैटौं स्थानमा फिनल्याण्डका जोआकिम वल्डरफ रहेका छन् । यता जर्मनीका म्याथियस आठौं स्थान, इंग्ल्याण्डका इथान रोस नवौं र चीनका लिउ लियाङ दशौं स्थानमा रहेका छन् ।
जुनियर ब्याटमिन्टनमा प्रिन्स राम्रो सम्भावना बोकेका खेलाडी हुन् । प्रिन्सले ११ प्रतियोगिता खेल्दै १० हजार ४०० अंक जोड्न सफल भएका छन् । पछिल्लो समय प्रिन्सले जुनियर व्याडमिन्टनमा उच्च प्रदर्शन गर्दै आएका छन् ।
सानै उमेरमा सनसनीपूर्ण रेकर्ड कायम गर्न सफल प्रिन्स ७ वर्षको उमेरमै र्याकेट समाउन थालेको बताउँछन् । दार्चुलाका उनी आफ्नो बुबा नारायण दाहाललाई प्रेरणाको स्रोत मान्छन् । उनले थाइल्यान्डको बान्थोङयार्ड ब्याडमिन्टन स्कुलमा एक वर्ष टे«निङ लिएका थिए । १६ वर्षिय उनले ९ वर्षको उमेरदेखि प्रतिस्पर्धात्मक खेलहरु खेल्न थालेका थिए । उनले यू–१५ जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजमा स्वर्ण पदक जितेका थिए । उनले पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठ लगायतलाई पनि पराजित गरेका थिए । नेपालका नम्बर एक खेलाडी बन्ने र एसियाली तथा ओलम्पिक खेलकुदमा पदक जित्ने उनको लक्ष्य छ ।





























प्रतिक्रिया