पोखरा ।
दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार चितवन राइनोज र विराटनगर टाइटन्स स्पर्धामा उत्रिँदैछन् ।
अघिल्लो संस्करणमा उपविजेतामा सीमित चितवन तथा गत वर्ष पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको विराटनगर दुवै टोली शनिबार फाइनल खेलमा मैदानमा उत्रिँदा पीपीएलको पहिलो उपाधिको खोजीमा हुनेछन् । चितवनले जारी प्रतियोगितामा उत्कृष्ट खेल पस्किँदै समूह चरणका पाँचवटै खेलमा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको हो भने विराटनगरले प्लेअफमा पुग्न कठिन सङ्घर्ष गर्नुपरेको थियो ।
नेट रनरेटमा काठमाडौँभन्दा अघि रहँदै प्लेअफमा बुटवललाई पराजित गरेर विराटनगर प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । लिग चरणका पाँच खेलमध्ये तीन खेलमा विराटनगर पराजित भएको थियो भने दुई खेलमा जित हासिल गर्न सफल भयो । तर पछिल्ला दुई खेलमा भने विराटनगरले राम्रो शुरुआत गरेको छ ।
मङ्सिर २९ गतेदेखि शुरु भएको प्रतियोगिताको विजेताले २७ लाख तथा उपविजेताले १० लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडी, ब्याट्सम्यान तथा बलर गरी तीन जनालाई जनही एक/एक थान टीभीएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुयबल’ खेलाडीलाई एक लाख तथा ‘इमर्जिङ’ खेलाडीलाई ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
चितवन र विराटनगरसहित साविक विजेता पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न ६ शहरका ६ टोलीले प्रतियोगितामा सहभागितामा जनाएका थिए ।





























प्रतिक्रिया