क्रिकेटमा नेपाललाई काश्य, आज १३ खेल हुँदै

क्रिकेटमा नेपाललाई काश्य, आज १३ खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २३  ।  १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा सोमबार माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै नेपालले काश्य जितेको छ ।

९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका आरिफ शेखले २८ बलमा सर्वाधिक ३२ रनको योगदान दिए ।

पवन सरार्फ १० र रोहित कुमार पौडेल १५ रनमा अविजित रहे । ओपनर पारस खड्कालाई दोस्रो ओभरको पाँचौ बलमा लिम सफिगले उमर एडमबाट ३ रनमा क्याच आउट गराए । ज्ञानेन्द्र मल्ल २२ रनमा क्याच आउट गर्दै पेभिलिएन फर्काए ।

दीपेन्द्र सिंह ऐरीलाई उमर एडमले २ रनमा एलबी डब्लू आउट गरे । विनोद भण्डारी ११ बलमा  १२ रनमा रन आउट भए ।

माल्दिभ्सका उमर एडमले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । लिम सफिगले १ विकेट लिए । त्यसअघि सोमबार विहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको माल्दिभ्सले २० ओभरमा ९ विकेटको क्षतिमा ९४ रन बनाएको थियो ।  स्वर्णको लागि श्रीलंका र बंगलादेश भिड्दै छन् ।

आज १३ खेल हुँदै

तेह्रौँ दक्षिण एशियाली खेलकूदको आज नवौँ दिन १३ खेलको प्रतिस्पर्धा हुनेछ । आज काठमाडौँ, पोखरा र जनकपुरमा क्रिकेट, फुटबल, कबड्डी, बास्केटबल, बक्सिङ, कुस्ती, जुडो, आर्चरी, स्क्वास, टेनिस, फेन्सिङ, पौडी र टेनिस हुनेछ ।

कुन कुन खेल कहाँ ?

फुटबल

साग अन्तर्गत महिला फुटबलको फाइनल खेल आज पोखरा रङ्गशालामा हुनेछ । फाइनलमा नेपाल र भारतबीच खेल हुनेछ । महिला फुटबलको कास्य माल्दिभ्सले जितेको छ ।

क्रिकेट

साग क्रिकेटअन्तर्गत पुरुष क्रिकेटको फाइनल खेल आज त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा श्रीलङ्का र बङ्गलादेशबीच हुनेछ ।

कबड्डी

महिला र पुरुष कबड्डी हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा आज हुँदैछ । पुरुषतर्फ भारत र श्रीलङ्काबीच तथा महिलातर्फ नेपाल र भारतबीच फाइनल खेल हुनेछ ।

बास्केटबल

त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज महिला र पुरुष बास्केटबलको सेमिफाइनलका खेल हुनेछन् । पुरुषको सेमिफाइनलमा बङ्गलादेश र श्रीलङ्का तथा नेपाल र भारतबीच खेल हुनेछ ।

बक्सिङ

साग बक्सिङतर्फ आज आठ स्पर्धाको फाइनल खेल हुनेछ । नेपालका नौ खेलाडी फाइनलमा भिड्नेछन् । महिलातर्फ ललिता महर्जन, माला राई, मिनु गुरुङ, सङ्गीता सुनार र पुनम रावल तथा पुरुषतर्फ आशिष दुवाडी, भूपेन्द« थापामगर, सनिल शाही र गणेश प्रधान फाइनलमा भिड्नेछन् ।

आर्चरी

आर्चरीतर्फ पोखरामा आज एकल महिला र पुरुषको रिकर्भ र कम्पाउन्ड गरी चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

स्क्वास

स्क्वासतपर्फ आज पुरुष र महिलातर्फ विभिन्न खेल हुनेछन् ।

टेनिस

टेनिसअन्तर्गत आज महिला र पुरुषतर्फको विभिन्न खेल हुनेछन् । टेनिसअन्तर्गत पुरुष एकलको उपाधिका लागि भारतका सकेथ साई मिनेनी र मनिष, सुरेशकुमार तथा महिला एकलको उपाधिका लागि भारतकै श्रब्याभावी सेट्टी र सत्विका समाबीच खेल हुनेछ ।

कुस्ती

कुस्तीतर्फ आज दुई स्वर्ण पदकका लागि खेल हुनेछ । आइतबारसम्म भारतले १२, पाकिस्तानले तीन, श्रीलङ्काले दुई तथा नेपालले एउटा स्वर्ण जितेका छन् ।

जुडो

सागअन्तर्गत जुडोमा आज विभिन्न तौल समूहमा सात स्वर्णका लागि खेल हुनेछ । खेल आर्मी शारीरिक तालीम तथा खेलकूद केन्द्र, लगनखेलमा हुनेछ ।

फेन्सिङ

कीर्तिपुरमा फेन्सिङअन्तर्गत आज टिम स्पर्धामा तीन स्वर्णका लागि खेल हुनेछ ।

पौडी

पौडीअन्तर्गत आज विभिन्न स्पर्धामा खेल हुनेछ । सातदोबाटोस्थित पौडी पोखरीमा फाइनल चरणका खेल हुनेछन् ।

सुटिङ

सातदोबाटोस्थित सुटिङ रेञ्जमा आज एउटा खेलको प्रतिस्पर्धा हुनेछ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ ।

 

Skip This
Skip This
Logo