साग प्रतियोगितामा सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

साग प्रतियोगितामा सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,
गृहमन्त्री रामबहादुर थापाले दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताको क्रममा त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा विहिबार साग सुरक्षा कार्ययोजनाका सम्बन्धमा आयोजित बैठकमा गृहमन्त्री थापाले साग प्रतियोगिता मुलुकको प्रतिष्ठासँग जोडिएकाले कुनै कमजोरी नहुने गरी सुरक्षा योजना बनाउन निर्देशन दिनुभयो ।

गृहमन्त्री थापाले प्रतियोगितालाई स्वच्छ, स्वस्थ र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्नसमेत सुरक्षा निकायलाई निर्देशन दिनुभयो । बैठकमा सागका लागि तयार गरिएको सुरक्षा कार्ययोजना प्रस्तुत गरिएको थियो ।

कार्ययोजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालनको खाका तयार पारिएको छ । खेलस्थल, खेलाडीको आवासस्थल र खेलाडीको सुरक्षालाई केन्द्रमा राखेर कार्ययोजना तयार पारिएको छ । गृहमन्त्री थापाले सुरक्षा कार्ययोजना राम्रो बनेको भन्दै यसलाई थप परिष्कृत गर्दै लैजान निर्देशन दिनुभयो ।

बैठकमा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी तथा नेपाली सेना र सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकारी सहभागी हुनुहुन्थ्यो । मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौँ, ललितपुर, कास्की र धनुषामा १३ औँ साग प्रतियोगिता सञ्चालन हुँदैछ ।

Logo