उपराष्ट्रपतिद्वारा महिला भलिबल टिमलाई बधाइ

उपराष्ट्रपतिद्वारा महिला भलिबल टिमलाई बधाइ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

उपराष्ट्रपति नन्दबहादुर पुनले ‘एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’को उपाधि जित्न सफल भएकामा नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई बधाइ दिँदै खुसी व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले महिला भलिबलमा देशले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि हासिल गरेकामा राष्ट्रिय महिला भलिबल टिम, प्रशिक्षक, नेपाली खेलाडी र सम्पूर्ण नेपालीलाई बधाइ दिनुभएको छ । उहाँले बङ्गलादेशमा विहिबार सम्पन्न एभिसी सेन्ट्रल जोनमा इतिहास रचेर सारा नेपालीलाई खुसी दिएकामा नेपाल भलिबल सङ्घ, राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, कप्तान अरुणा शाही र सदस्यहरुप्रति विशेष धन्यवादसहित सम्मान व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले प्रतियोगिताको उत्कृष्ट स्पाइकर चुनिनु भएका प्रतिभा माली र व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने सबै खेलाडीलाई बधाइसहित धन्यवाद दिनुभएको छ । उहाँले सीमित साधन स्रोतको बाबजुद राष्ट्रिय महिला भलिबल टिमले उत्कृष्ट प्रदर्शन गरेर नेपालीलाई खुसी दिनु राष्ट्रकै गौरव र प्रतिष्ठा भएको बताउनु भएको छ ।

निकट भविष्यमा घरेलु मैदानमा आयोजना हुन लागेको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगितामा नेपालले भलिबल लगायत सबै विधामा उत्कृष्ट प्रदर्शनसहित उपाधि जित्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । उपराष्ट्रपति पुनले खेलकूदको विकासका लागि सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नुका साथै लगानी वृद्धि गर्न सबै पक्षको ध्यानाकर्षणसमेत गराउनु भएको उपराष्ट्रपति पुनको सचिवालयले जनाएको छ ।
रासस

Logo