एभीसी सेन्ट्रल जोन भलिबल : उज्वेकिस्तान र किर्गिस्तान फाइनलमा

एभीसी सेन्ट्रल जोन भलिबल : उज्वेकिस्तान र किर्गिस्तान फाइनलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

उज्वेकिस्तान र किर्गिस्तान काठमाडौंमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको सेमिफाइनलमा जित निकाल्दै दुवै टोलीले उपाधि भिडन्त पक्का गरेका हुन् । बिहीबार भएको पहिलो खेलमा किर्गिस्तानले तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको खेलमा किर्गिस्तानले तुर्कमेनिस्तानलाई २५–१७, २५–१८, २५–२२ को सेटमा पराजित गर्‍यो ।

प्रतियोगितामा किर्गिस्तान समूह ‘ए’को विजेता र तुर्कमेनिस्तान समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । किर्गिस्तानले समूह चरणमा शतप्रतिशत जित निकालेको थियो । उसले पहिलो खेलमा नेपाल र अर्को खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो । तुर्कमेनिस्तानले भने अफगानिस्तान र बंगलादेशलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो । समूह चरणको अन्तिम खेलमा तुर्कमेनिस्तान उज्वेकिस्तानसँग पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो ।

बिहीबार नै भएको अर्को खेलमा उज्वेकिस्तानले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै किर्गिस्तानसँगको उपाधि भिडन्त पक्का गर्‍यो । एकपक्षीय खेलमा उज्वेकिस्तानले माल्दिभ्सलाई २५–२०, २५–१९, र २५–२१ को सेटमा पराजित गर्‍यो । उज्वेकिस्तान समूह ‘बी’को विजेता र माल्दिभ्स समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए ।

उज्वेकिस्तानले समूह चरणमा शतप्रतिशत जित निकाल्ने क्रममा बंगलादेश, तुर्कमेनिस्तान र अफगानिस्तानलाई पराजित गरेको थियो । माल्दिभ्सले भने समूह चरणको खेलमा नेपाललाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो । माल्दिभ्स किर्गिस्तानसँग पराजित भएको थियो । फाइनल खेल शनिबार हुनेछ ।

शुक्रबार माल्दिभ्सले तेस्रो स्थानका लागि तुर्कमेनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी आयोजक नेपालले पाँचौं स्थानका लागि अफगानिस्तानको सामना गर्नेछ । घरेलु टोली नेपाल माल्दिभ्स र किर्गिस्तानसँग ३–० को समान सेटमा पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको थियो ।
अन्नपूर्णबाट

Logo