आईसीसी यू–१९ विश्वकप २०२४ अन्तर्गत ‘सुपर सिक्स’को पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालले हार व्यहोरेको छ । दक्षिण अफ्रिकाको माङ्गाउङ्ग ओभलमा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १७० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले २५.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्न सफल भयो । बंगलादेशका लागि ओपनर जिसम आलमले अर्धशतकीय पारी खेले । आलमले ४३ बलमा ५५ रन जोडे । त्यस्तै, अरुफूल इस्लामले पनि अर्धशतकीय इनिङ खेले । उनी ५९ रनमा अविजित रहे ।

बलिङमा नेपालका सुवास भण्डारीले सानदार बलिङ गरे । तर, नेपाललाई जिताउन सकेनन् । पाँचौ विकेटमा उनले मोहम्मदलाई शून्यमा पवेलियन फर्काएका थिए । त्यसअघि चौथो विकेटमा उनले २१औं चौथो बलमा अहरर अमिनलाई १२ रनमा बोल्ड आउट गरेका हुन् । उनले अशिक्वार रहमान शिविललाई पहिलो विकेटका रुपमा गुलशन झाको हातबाट क्याच आउट गराए । रहमान ३४ बलमा १६ रन बनाएको अवस्थामा पवेलियन फर्किए। त्यस्तै सुवासले नै तेस्रो क्रममा छ्वाधुर रिजवानलाई ११ बलमा १५ रन बनाएको अवस्थामा विपिन रावलबाट आउट गराउन सफल भए।
त्यसपछि सुवासकै बलमा कप्तान देव खनालले बंगलादेशका अर्का ओपनर जिसम आलमलाई आउट गराए । आलमले ४३ बलमा ५५ रनसहितको अर्धशतकीय पारी खेलेका थिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपाल ४९.५ ओभरमा अलआउट हुँदै १६९ रनमा समेटिएको थियाे । सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिरीसकेको नेपाल बिना दबाब बंगलादेशविरुद्ध खेल्ने आशा गरिए पनि सस्तैमा समेटिन पुग्यो । शिर्षक्रमकै ब्याट चलेन ।

नेपालका लागि विशाल विक्रम केसी महत्वपूर्ण अर्धशतक प्रहारबाट चुके । ४२औं ओभरको अन्तिम बलमा उनी ४८ रन हुँदा बोल्ड आउट भएका हुन् । उनी यसअघिको खेलमा थिएनन् । आज नै टोलीमा परेका थिए । तर, अर्धशतकको सपना पूरा हुन सकेन । त्यस्तै, नवौं नंबरमा ब्याट लिएर मैदान छिरेका सुवास भण्डारी १८ रनमा अविजित रहे ।
यसअघि नेपालका गुलसन झा, दीपक बोहरा र दीपेश कँडेल समान ३/३ रनमा आउट भएका थिए । नेपालले चौथो विकेटका रुपमा कप्तान देव खनाललाई गुमाएको थियो । २७ ओभरको चौथो बलमा उनी ३५ रन बनाउँदै क्याच आउट भए । जीसन आलमको बलमा उनी ठूलो सट खेल्ने धुनमा क्याच आउट भएका हुन् ।
त्यसअघि पहिलो १० ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएको थियो । पहिलो विकेटको रुपमा ओपनर विपिन रावल २ रनमा ३.५ ओभरमा आउट भएका थिए। त्यसपछि नेपालले ७.५ ओभरमा आकाश त्रिपाठीलाई गुमायो । तेस्रो विकेटको रुपमा अर्जुन कुमाल १४ रनमा आउट भए ।





























प्रतिक्रिया