अनिल र भीमको सानदार शतकमा क्यानडाविरुद्धको सिरिज ‘क्लिन स्वीप’

अनिल र भीमको सानदार शतकमा क्यानडाविरुद्धको सिरिज ‘क्लिन स्वीप’

केन्द्रबिन्दु
84
Shares

ओपनर अनिल साह र भीम सार्कीको शतकमा घरेलु टोली नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा क्लिन स्वीप गरेको छ । सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा क्यानडामाथि नेपालले ९ विकेटको सानदार जित दर्ता गरेको हो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले जितका लागि दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.३ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गर्न सफल भयो । नेपालका लागि ओपनर साहले सर्वाधिक रनको शतकीय इनिङ खेले । सुरुवात देखि नै आक्रमक रुपमा उत्रिएका उनले १२ चौका र २ छक्का प्रहार गरे । खेलको दोस्रो ओभरमा अनिलले क्यानडाका उदय भगवानलाई लगातार चार चौका प्रहार गरेका थिए । यो उनको अन्तर्राष्ट्रिय ओडीआईमा पहिलो शतक पनि हो ।

यसअघि क्यानडाविरुद्धको दोस्रो खेलमा डेब्यू गरेका अनिलले सोही दिन अर्धशतकको कीर्तिमान बनाएका थिए । १९ बलमा अर्धशतक पूरा गर्दै उनले नेपालका लागि ओडीआईमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमानी आफ्नो नाममा बनाएका थिए । यसअघि उक्त कीर्तिमानी २१ बलमा अर्धशतक पूरा गरेका आसिफ शेखको नाममा थियो ।

त्यस्तै, भीम सार्कीले पनि सानदार शतकीय इनिङ खेले । १२९ बल खेलेका उनले ११ चौका र एक छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् । उनको पनि यो अन्तर्राष्ट्रिय ओडीआईमा पहिलो शतक हो । उनीहरुको साझेदारी उत्कृष्ट रह्यो । चौथो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालका लागि भीम र अनिलले सानदार पारी खेले । चौथो ओभरको पाँचौं बलमा भुर्तेल १३ रन जोड्दै आउट भए । उनलाई डिलोन हेलिगरले बोल्ड गरेका थिए । त्यसपछि क्यानडाका बलरसामू भीम र अनिल भारी भए ।

यसअघि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३२ रन बनाएको थियाे । क्यानडाका लागि नवनीद धलिवालले अर्धशतकीय इनिङ खेले । ८२ बल खेलेका उनले ५ चौकाको मदतमा ५० रन जोडे । सुरुवातमै धर्मराएको क्यानडाका लागि उनको इनिङ महत्वपूर्ण थियो ।

त्यस्तै, निखिल दत्तले ४५ रन जोडे । रनआउट हुँदा अर्धशतकबाट भने चुके । साथै हर्ष ठाकर २९ रन, श्रेयास मोभा २५ रन तथा श्रीमन्थ विजयेन्ते २२ रनमा क्याच आउट भए । कप्तान साद बिन जाफर ३१ रनमा अविजित रहे । उनको फिनिसिङ उत्कृष्ट रह्यो । १५ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे ।

बलिङमा नेपालका तीव्र गतिका बलर हेमन्त धामीले सर्वाधिक ३ विकेट लिए । आज मात्रै सिनियर राष्ट्रिय क्रिकेट टोलीबाट उनले ओडीआई डेब्यु गरेका हुन् । ८ ओभर बलिङ गरेका उनले ४९ रन खर्चिएर ३ विकेट लिएका हुन् । साथै कुशल मल्लले २ विकेट लिँदा आकाश चन्द र ललितनारायण राजवंशीले एकएक विकेट लिए ।

नेपालले यसअघि भएको दुवै खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपालले क्यानडालाई ७ रन र दोस्रो खेलमा ४ विकेटले पराजित गरेको थियो ।

Logo