काठमाडौं । आठौँ ‘वर्ल्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोट्र्स च्याम्पियनसिप’ मा पदक विजेतालाई सम्मान गरिने भएको छ । काठमाडौंमा साउन ४ गते सम्पन्न च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण ७ रजत र ६ कास्य पदक जितेको थियो ।
राष्ट्रको शिर उच्च राख्न सफल पदक विजेता खेलाडीहरुलाई नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले ब्यक्तिगत रुपमा सम्मान गर्ने भएका हुन् ।
संघले एक बिज्ञप्ती जारी गर्दै संघका अध्यक्षको तर्फबाट उक्त च्याम्पियनसिपमा स्वर्ण हात पार्नेलाई नगद ५० हजार, रजतलाई नगद ३० हजार र कास्यलाई नगद २० हजार प्रदान गर्ने निर्णय भएको जानकारी गराएको हो ।
१८ विधामा प्रतिस्पर्धा गराईएको च्याम्पियनसिपमा नेपालले भारतलाई पछि पार्दै ३ स्वर्ण ७ रजत र ६ कास्य जितेको थियो । टिम च्याम्पियन भने अफगानिस्तान रहेको थियो । उक्त च्याम्पियनसिपमा नेपालका समिर श्रेष्ठले सिनियर तर्फ ६५ केजीमा स्वर्ण हात पारेका थिए । नरेश मुनिकारले १६७ सेमिमाथीको पुरुष एथलेटिक्स फिजिकमा तथा मल्लिका शाक्यले महिला मोडल फिजिकमा स्वर्ण हात पारेका थिए ।
तिनै पदक विजेताहरुले श्रावण ३१ देखि भाद्र १ गते सम्म थाइलैण्डको बैंककमा आयोजना हुने एशिया प्यासिफिक बडिबिल्डङ च्याम्पियनसिप २०१९ मा सहभागिता जनाउनेछन् । उनीहरुले सोही विधामा स्पर्धा गर्ने नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिए ।
त्यस्तै भाद्र २६ देखि असोज १ सम्म चीनमा हुने ५३ औं बडिबिल्डङ एण्ड फिजिक स्पोर्टस् च्याम्पियनसिप २०१९ मा शारीरिक सुगठन प्रतियोगितामा ३ जना, पुरुष स्पोर्टस फिजिक्स तथा महिला एथलेटिक्स फिजिक्समा ४ जना र पुरुष एथलेटिक्स फिजिक्समा २ जना तथा २ अफिसियल र २ निर्णायकहरु गरी जम्मा १३ जनाले सहभागिता जनाउने संघद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।





























प्रतिक्रिया