पीएसएलमा मुल्तान सुल्तानको पाँचौं जित, लाहोरको छैटौँ हार

पीएसएलमा मुल्तान सुल्तानको पाँचौं जित, लाहोरको छैटौँ हार

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल)मा मुल्तान सुल्तानले उत्कृष्ट लय कायम राख्दै पाँचौं जित निकालेको छ । मंगलबार राति लाहोरमा भएको खेलमा लाहोर क्वालन्दर्सलाई ६० रनले पराजित गरेको हो।

मुल्तानले खेलेका ६ मध्य पाँच खेलमा जित निकाल्दा लाहोर भने लगातार छैटौँ हार व्यहोर्न पुग्यो। टस जितेर पहिला ब्याटिङ गरेको मुल्तानले निर्धारित ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो।

सुरुआत खराब रहे पनि उस्मान खान र रेजा हेनरिकले पारी सम्हालेका थिए। यी दुईले ४६ बलमा ७० रनको साझेदारी गरे। हेनरिक २७ बलमा ४० रन बनाएर आउट हुँदा एक छक्का र छ चौका प्रहार गरे।

यसैगरी उस्मान खान र तयब ताहिरले ४० बलमा ७७ रनको साझेदारी गर्दै विशाल योगफल तर्फ मुल्तानलाई अग्रसर गराए। टिमको स्कोर १५१ रन हुँदा तयब ताहिर १४ बलमा २१ रन बनाएर आउट भएका थिए। रेजा र इफ्तिकर अहमदले २८ बलमा ६० रनको उत्कृष्ट साझेदारी गरेपछि मुल्तान २०० प्लस भएको थियो।

उस्मान ५५ बलमा ९६ रन बनाएर आउट भए। उनले दुई छक्का र ११ चौका प्रहार गरेका थिए। यसैगरी इफ्तिकर अहमदले १८ बलमा ४० रनको पारि खेल्दा तीन छक्का र दुई चौका हिर्काए । खुसदील साह भने ३ रनमा नटआउट रहे। लाहोरका सहेन साह अफ्रिदीले २ विकेट लिए।

२१५ रनको लक्ष्य पछ्याएको लाहोरको सुरआत राम्रो भए पनि पछिल्लो क्रममा रन बन्न सकेन। ओपनर सहिवजादा फरहानले २१ बलमा सर्वाधिक ३१ रन बनाउँदा रसे भान डेर डुसेनले २२ बलमा ३० रनको योगदान गरे।

यसैगरी फकर जमानले २३ तथा सिकन्दर रजाले १७ रन बनाउँदा कार्लोस व्रेथह्वाइटले १४ रनको नटआउट पारि खेले। लाहोर १७ ओभरमा १५४ रनमा समेटिएको थियो। मुल्तानका उस्मा मिर एक्लैले ६ विकेट लिँदा फैजल अक्रमले २ विकेट हात पारे।

जितसँगै मुल्तान १० अंक बनाएर पीएसएलको शीर्ष स्थानमा छ भने लाहोरले खाता पनि खोल्न सकेको छैन। पीएसएल अन्तर्गत आज कराची किंग्स र इस्लामावाद युनाइटेडबीच प्रतिस्पर्धा हुने छ। यो खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ।

Logo