‘खेलकुदको बजेट झिंगाको टाउको जति छ, तर म चुनौती दिन्छु’ -मन्त्री श्रेष्ठ

‘खेलकुदको बजेट झिंगाको टाउको जति छ, तर म चुनौती दिन्छु’ -मन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद क्षेत्रमा सीमित स्रोत साधनका बीचमा काम गर्नुपर्ने चुनौती रहेको बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित एक अन्तरक्रियामा उनले मन्त्रालयमा बजेट थोरै भएको भन्दै यस्तो अवस्थामा पनि एकीकृत भएर लागे सफल हुन सकिने साबित गर्ने प्रयासमा रहेको बताएका हुन् ।

उनले भने, ‘खेलकुद मन्त्रालयको बजेट झिंगाको टाउको जति छ, त्यसमा पनि जम्मा ४ प्रतिशत प्रशासनिक खर्चमा मात्र मन्त्रालयले चलाउनु पर्छ । तर, मलाई के कुरा साबित गर्न मन लागेको छ भने एकीकृत भएर लाग्ने हो भने काम गर्न सकिन्छ । स्रोत साधनको विषयमा नेपालमा सबैले गुनासो गरि नै रहेका हुन्छन्, मलाई त्यसलाई पनि एकपटक चुनौती दिन मन लागेको छ ।’

यस्तै, उनले अवसर र चुनौती भन्ने कुरा सँगसँगै आउने विषय भएको भन्दै नीतिभित्र बसेर गर्न सक्ने कामको सुरुवात गरेको पनि बताए । उनले भने, ‘अवसर र चुनौती भन्ने कुरा सँगसँगै हुने रहेछ, यसमा काम गर्दै जाँदा कति नीतिगत कुराहरु बुझेर खाडलहरु पुर्नुपर्ने छ, यसको साथै बेतिथिको कमी छैन । तर, केही प्रयासहरु गर्ने हो भने परिवर्तनहरु आउने रहेछ । यही नीतिभित्र बसेर गर्न सक्ने कामबाट सुरुवात गरेको छु ।’

खेल क्षेत्रप्रतिको घट्दो प्रभावलाई सुधार गर्ने प्रयासमा रहेको भन्दै त्यसमा युवा सहभागी र नवीनतम सोचको आवश्यकता भएको भनाइ पनि उनले राखे ।

Logo