आइपीएलको १७ औँ सिजन आजदेखि

आइपीएलको १७ औँ सिजन आजदेखि

केन्द्रबिन्दु
154
Shares

काठमाडौं। इन्डियन प्रिमियर लिग आइपीएलको १७ औं सिजन शुक्रबारदेखि सुरु हुँदैछ।

प्रतियोगिता अघि पौने ७ बजेबाट उद्घाटन समरोह हुनेछ भने खेल राति सवा ८ बजेदेखि सुरु हुनेछ। उद्घाटन समारोहमा सोनु निगम, एआर रहमान, अक्षय कुमार, टाइगर श्राफले विशेष प्रस्तुती दिने छन्।

उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स (सीएसके) ले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)सँग प्रतिस्पर्धा गर्नेछ। सीएसके र आरसीबी का आ–आफ्ना टोलीमा अनुभवी खेलाडीहरू छन्। दुवैसँग विदेशी खेलाडीहरूको राम्रो समूह छ। दुवै टोली यस सिजनको सुरुवात जितका साथ गर्न चाहन्छन्।

आइपीएल इतिहासमा सीएसके र आरसीबी बीच अहिलेसम्म कुल ३१ खेल खेलिएको छ। जसमा डिफेन्डिङ च्याम्पियन सीएसकेले २० खेल जितेको छ भने आरसीबी टोलीले मात्र १० खेल जित्न सकेको छ। दुई टोलीबीचको एउटा खेलको नतिजा भने आएन।

आरसीबीको तुलनामा सीएसके अगाडि रहेको छ। तर, टी–२० क्रिकेटमा एक बलले खेल परिवर्तन हुने भएकाले यो ढाँचामा कुन टोलीले खेल जित्छ भन्न गाह्रो छ।

सन् २०२१ देखि २०२३ सम्म दुई टोलीबीच खेलेका पछिल्लो पाँच खेलमध्ये सीएसकेले चार खेल जितेको छ भने आरसीबीले एक खेल जितेको छ। २०२१ को सिजनमा यी दुई टोलीबीच दुई खेल खेलेका थिए र धोनीको टोलीले दुवै खेलमा जित दर्ता गर्न सफल भयो।

यसपछि २०२२ मा पनि सीएसके र आरसीबी बिच दुई खेल खेलेका थिए जसमध्ये एक खेल सीएसकेले जितेको थियो भने दोस्रो खेलमा आरसीबी विजयी भएको थियो। गत सिजन दुई टोलीबीच एउटा मात्र खेल भएको थियो र यस खेलमा सीएसकेले आरसीबी लाई ८ रनले पराजित गरेको थियो।

सीएसके टोलीले यस सिजनको पहिलो खेल आफ्नो घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा खेल्नेछ। सीएसके लाई उसको घरेलु मैदानमा हराउन कुनै पनि टोलीका लागि सधैं चुनौतीपूर्ण हुन्छ। सीएसकेको विशेषता यो हो कि यसले घरेलु अवस्था हेरेर मात्र टिम छनोट गर्छ जसमा स्पिन बलरलाई प्लेइङ इलेभेनमा राखिन्छ। सीएसकेको तुलनामा, आरसीबी सँग त्यो स्तरका स्पिनरहरू छैनन्।

आरसीबीसँग उत्कृष्ट ब्याट्सम्यान छन्, त्यसैले यो सिजनमा पनि पूर्वकप्तान विराट कोहली फाफ डुप्लेसिससँग ओपनिङमा आउने सम्भावना पनि छ। गत सिजन, उनीहरूको ओपनिङ जोडीले राम्रो प्रदर्शन गरेको थियो।

मिडल अर्डरमा ग्लेन म्याक्सवेल, सुयश प्रभुदेसाई, रजत पाटीदार र दिनेश कार्तिक जस्ता ब्याट्सम्यान छन्। यसबाहेक आरसीबीले मुम्बई इन्डियन्सबाट क्यामरुन ग्रीनलाई पनि ट्रेड गरेको थियो।

चोटग्रस्त डेभोन कोनवे सीएसकेको टोलीमा छैनन्, तर धोनीको टोलीमा न्युजिल्याण्डका युवा ओपनर रचिन रविन्द्र छन् र कोनवेको स्थानमा रचिनले ओपनिङको जिम्मेवारी लिने अपेक्षा गरिएको छ। सीएसकेले श्रीलंकाका मथिशा पाथिराना नखेल्दा उनको ठाउँमा मुस्ताफिजुर रहमानले मौका पाउन सक्छन् ।

चेन्नई सुपर किंग्सः रचिन रविन्द्र, ऋतुराज गायकवाड (कप्तान), अजिंक्य रहाणे, शिवम दुबे, रवीन्द्र जडेजा, डेरिल मिचेल, महेन्द्र सिंह धोनी, मिचेल सान्टनर, शार्दुल ठाकुर, दीपक चाहर, मुस्ताफिजुर रहमान ।

रोयल च्यालेन्जर्स बैंगलोरः विराट कोहली, फाफ डुप्लेसिस (कप्तान), रजत पाटीदार, ग्लेन म्याक्सवेल, सुयश प्रभुदेसाई, दिनेश कार्तिक, क्यामरन ग्रीन, महिपाल लोमरर, रीस टोपले, मोहम्मद सिराज, करण शर्मा।

Logo