अष्ट्रेलियाका ‘डेब ह्वाटमोर’ नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त

अष्ट्रेलियाका ‘डेब ह्वाटमोर’ नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा अष्ट्रेलियाका ‘डेब ह्वाटमोर’ नियुक्त भएका छन् । श्रीलंकालाई सन् १९९६ मा प्रशिक्षकको रुपमा विश्वकप क्रिकेटको उपाधि जिताएका वाटमोर छनोटको लामो प्रक्रियापछि प्रशिक्षकमा नियुक्त भएका हुन् । एक वर्षको सम्झौतामा वाटमोर मुख्य प्रशिक्षकमा नियुक्त भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । डेभ वाटमोर आफ्नो समयका उम्दा खेलाडी समेत हुन् । राइट ह्यान्डेड ब्याट्सम्यान वाटमोरले अस्ट्रेलियाबाट सात टेस्ट, एक एकदिवसीय, १ सय ८ फस्ट क्लास र २६ लिष्ट ए क्रिकेट खेलेका छन् ।

२००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक भएर काम गरेका वाटमोर बंगलादेशको क्रिकेटलाई विश्व जगतमा चिनाउने महत्वपूर्ण व्यक्तिका रुपमा चिनिन्छन् । एक समय भारतीय क्रिकेट टिमको प्रशिक्षकको रुपमा चर्चा गरिएका वाटमोरले भारतको यु–१९ राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारी समेत सम्हालि सकेका छन् । २००८ मा विराट कोहलीको कप्तानीमा भारतले यु–१९ विश्वकपको उपाधि जित्दा प्रशिक्षकमा उनै वाटमोर थिए । त्यसका साथै भारतको राष्ट्रिय क्रिकेट एकेडेमीको डाइरेक्टर भएर समेत उनले काम गरेका थिए ।

यस्तै उनले इन्डियन प्रिमियर लिग आइपिएलमा कोलकाता नाइट राइडर्सको प्रशिक्षकको रुपमा पनि काम गरिसकेका छन् । उनी २०१२ मा पाकिस्तान राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बने भने उनकै प्रशिक्षणमा पाकिस्तानले एसिया कपको उपाधि चुम्न सफल भएको थियो । वाटमोर २०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षक भूमिकामा रहे ।

पाकिस्तानपछि २०१४ को डिसेम्बरमा वाटमोर जिम्बाब्वेको प्रशिक्षक बनेका थिए । जिम्बाब्वेसँग ९ महिनाको सम्झौता बाँकी रहँदै बर्खास्त भएका वाटमोर त्यसपछि २०१७ मा केरला क्रिकेट एसोसिएसनको मुख्य प्रशिक्षक बनेका थिए । उनी गत २०२० को फेब्रुअरीमा सिंगापुर राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक बने जहाँ उनले सिंगापुरलाई एसीसी टि–२० एसिया कपमा छनोट गराउन सफल भएका थिए । वाटमोरले नेपाली खेलाडीहरुलाई यसअघि पनि ब्याट एण्ड बल फाउण्डेसनले आयोजना गरेको हाई पर्फर्मेन्स क्याम्पमा ११ दिने प्र्रशिक्षण दिइसकेका छन् भने, अबको नेपाली क्रिकेटको भविष्य पनि उनी वाटमोरकै हातमा सुम्पिइएको छ ।

Logo