जीतपुर सिमरा गोल्डकपः आयोजकलाई स्तब्ध पार्दै पुलिस सेमीफाइनलमा

जीतपुर सिमरा गोल्डकपः आयोजकलाई स्तब्ध पार्दै पुलिस सेमीफाइनलमा

केन्द्रबिन्दु
112
Shares

सिमरा। विभागीय टोली नेपाल पुलिस क्लब १४ औं जीतपुर सिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति सिमरा रङ्गशालामा भएको क्वाटरफाइनलमा पुलिसले आयोजक नवजनजागृति युवा क्लब सिमरालाई घरेलु मैदानमा २–१ गोल अन्तरले पराजित गरेको हो।

पुलिसको जितमा दुबै गोल उज्वल राईले गरेका थिए भने आयोजक टिमका लागि मोहित गुरुङले पेनाल्टी गोल गरेका थिए। खेलको तेश्रो मिनटमै आयोजकविरुद्ध पुलिसले अग्रता बनाएको थियो।

आयोजकको समर्थनमा सिमरा रङ्गशालामा उपस्थित करिब ८ हजार घरेलु दर्शकलाई निराश पार्दै पुलिसका लागि उज्वल राईले उत्कृष्ट सुरुवात गरेका थिए। राईट कर्नर एरियाबाट आयोजकका डिफेण्डर बिट गर्न सफल सुजन मगरको पासमा उज्वलले गोल गरेका थिए।

सुरुवाती दबाबमा परेको आयोजक खेलको पाँचौ मिनटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्कियो। पुलिस क्लबका निरज खड्काले आयोजक टिमका मोहित गुरुङलाई डिबक्स भित्र फाउल गरेपछि फिफा रेफ्री प्रज्वल थापामगरले आयोजकलाई पेनाल्टी अवसर प्रदान गरेका थिए। पेनाल्टी मार्फत गोल गर्दै मोहित गुरुङले आयोजकलाई बराबरीमा ल्याएका थिए।

खेलको १९ औं मिनटमा उज्वल राईलेनै गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे। डिबक्स बाहिरबाट आयोजकका डिफेण्डर बिट गर्दै बल अघि बढाएका उज्वलले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर पारे।

प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा भएको गोलनै पुलिसको जितमा निर्णायक बन्यो। दुबै टिमले अन्तिमसम्म संघर्ष गरेका थिए। खेलमा दुबै टिमले आकर्षक अवसरहरु सिर्जना गरेपनि गोल हुन सकेन।

खेलको ११ औं मिनटमा पुलिसका उज्वल राईले पेनाल्टी एरियामा पाएको अवसर खेर फाले। सुजन मगरको पासमा उज्वलले गरेको प्रहार फस्टबार नजिकबाट बाहिरिएको थियो।

खेलको १२ औं मिनटमा आयोजकले गोल गर्ने सुन्दर अवसर गुमायो। निरज कार्कीले पुलिसका गोलरक्षक समेत विट गरिसकेको अवस्थामा गरेको प्रहार पुलिसका डिफेण्डर शिशिर चौधरीले उत्कृष्ट हेडिङ गर्दै गोललाईनबाट क्लिएर गरेका थिए।

खेलको ८८ औं मिनटमा पुलिसका आशिष राईले वन भर्सेन वनको अवसर खेर फाले। सेन्टर लाईनबाट एक्लै बल अघि बढाएका आशिष फिनिसिङमा चुक्दा आयोजकका डिफेण्डरले रोक्न सफल भए।

दोेश्रो हाफको इन्जुरी समयमा बराबरी गर्ने अवसर आयोजकले सदुपयोग गर्न सकेन। विबेक गुरुङको पासमा मोहित गुरुङको हेडिङ बल क्रसबार माथिबाट बाहिरीयो। खेलमा आकर्षक अवसरहरु बनाए पनि फिनिसिङमा चुक्दा आयोजक नवजनजागृति युवा क्लब घरेलु मैदानमा निराश बन्यो।

खेलको म्यान अफ दि म्याच पुलिसका उज्वल राई घोषित भए। उनले शुभारम्भ कलेज अफ म्यानेज्मेन्टले प्रायोजन गरेको १० हजार नगद सहित ट्रफी प्राप्त गरे। प्रतियोगिता अन्तर्गत आज बेलुका नेपाल एपिएफ क्लब र फ्रेण्ड्स क्लबको बिचमा अन्तिम क्वाटरफाइनल खेल हुनेछ।

Logo