आलोचनापछि पेरिस ओलम्पिकमा नयाँ टिकट जारी

आलोचनापछि पेरिस ओलम्पिकमा नयाँ टिकट जारी

केन्द्रबिन्दु
42
Shares

पेरिस । खेल प्रशंसकहरूले आगामी साता पेरिस ओलम्पिकका लागि टिकट खरिद गर्नका लागि नयाँ मौका पाउने भएका छन् । मुख्य आयोजक टोनी एस्टान्गुएटले अर्को दुई लाख ५० हजार थान टिकट जारी गर्ने बताएका हुन् ।

“आगामी साता अप्रिल १७ को बिहान १० बजे हामी सबै खेल, सबै मूल्य श्रेणी र सबै प्रतियोगिता स्थलका लागि दुई लाख ५० हजार नयाँ टिकट बिक्रीका लागि राख्नेछौँ”, उनले पत्रकारहरूसँग भने ।

यसअघिको टिकट जारीका क्रममा उच्च मूल्यको आलोचना भएपछि उनले तीमध्ये आधालाई एक सय युरो (एक सय आठ अमेरिकी डलर) भन्दा कममा बिक्री गरिने बताए ।

जिम्नास्टिकका लागि कूल १० हजार टिकट उपलब्ध गराइने छ । पौडीका लागि १५ हजार, टेनिसका लागि १२ हजार र बिच भलिबलका लागि ३५ हजार टिकट जारी गरिने छ । यी खेलहरू एफिल टावर अगाडिको अस्थायी रङ्गशालामा खेलाइने छ ।

अधिकांश टिकट समग्रमा ७९ लाख टिकट पहिला नै बिक्री भइसकेकाले एस्टान्गुएटले चेतावनी दिँदै भने, “तपाईं छिटो हुनुपर्छ ।” आयोजक समितिका अनुसार यसअघिका खरिदकर्ताहरूमा दुई तिहाई फ्रान्सेली थिए तर एक सय ५० विभिन्न मुलुकका मानिसले पनि टिकट सुरक्षित गरेका छन् ।

पेरिस ओलम्पिक जुलाई २६ देखि अगस्ट ११ सम्म सञ्चालन हुनेछ । यसपछि अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म पाराओलम्पिक हुनेछ । -एएफपी

Logo