गणेशमानसिंह क्रिकेटमा लुम्बिनीको विजयी सुरुवात

गणेशमानसिंह क्रिकेटमा लुम्बिनीको विजयी सुरुवात

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। वीर गणेशमानसिंह राष्ट्रिय क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशले मंगलबार विजयी सुरूवात गरेको छ। वीर गणेशमानसिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगितामा लुम्बिनीले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

गण्डकीले दिएको १३६ रनको लक्ष्य लुम्बिनीले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। लुम्बिनीका सुनिल भण्डारीले अविजित रहँदै सर्वाधिक ६० रन बनाए। ४६ बल खेलेका उनले ९ चौका प्रहार गरे। आकाश त्रिपाठी ४४ र कप्तान देव खनाल १८ रनमा आउट हुँदा कृष्ण कार्की ३ रनमा अविजित रहे।

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनायो। गण्डकीका अर्जुन कुमालले सर्वाधिक ३१ रन बनाए।

१८ बल खेलेका उनले ५ चौका प्रहार गरे। अमृत गुरुङ १३, ईश्वर क्षेत्री १२ र करण पंगेनी १२ रनमा आउट हुँदा कमल परियार १६ रनमा अविजित रहे। लुम्बिनीका नर सार्कीले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा २२ रन खर्चिए। निर्मल गुरुङले २ विकेट लिँदा अभिषेक गौतमको नाममा १ विकेट रह्यो।

Logo