साउदी अरेबियामाथि रोमाञ्चक जित निकाल्दै नेपाल सेमिफाइनलमा

साउदी अरेबियामाथि रोमाञ्चक जित निकाल्दै नेपाल सेमिफाइनलमा

केन्द्रबिन्दु
98
Shares

नेपालले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहचरणमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको समूहचरणकाे अन्तिम खेलमा नेपालले साउदी अरेबियामाथि ६ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो ।

ओमानको अल अमेरत खेल मैदानमा साउदीले जितका लागि दिएको ७४ रनको लक्ष्य नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालको सुरुवात खराव रहेपनि मध्यक्रम भने राम्रै चल्यो । ओपनर कुशल भुर्तेललाई पहिलो ओभरको दोस्रो बलमा शून्यमै गुमाएको नेपालले दोस्रो ओभरको दोस्रो बलमा अर्का आपनर आशिफ शेख पनि गुमाएको थियो । त्यतिबेला नेपालको ५ रन मात्रै बनेको थियो । कुशल मल्ल पनि २ रनमै आउट भए ।

त्यसपछि आएका गुलसनले उत्कृष्ट ब्याटिङ गरे । १९ बल खेलेका उनले २ चौका र २ छक्काको मदतमा ३२ रन जोडे । साथै दीपेन्द्रसिंह ऐरीले १७ रन जोड्दा कप्तान रोहितकुमार पौडेल १६ रनमा नटआउट रहे ।

बलिङमा इस्तियाक अहमदले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन बनाएको थियो । उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । उनले १६ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका लागि करन केसी र अभिनाश बोहोराले दुई/दुई विकेट लिए भने प्रतीस जिसी र ललित राजवंशीले एक/एक विकेट लिए ।

याेसँगै नेपालले आफ्नो अपराजित यात्रालाई कायमै राखेकाे छ । समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

Logo